सुदूर नेपाललाई विश्वसँग जोड्दै

मौलिक जरोकिलो पार्टीका अध्यक्ष र वरिष्ठ उपाध्यक्षले दिए राजीनामा

२०७९ पुष २४, १०:२६ खबर संवाददाता

धनगढीः मौलिक जरोकिलो पार्टीका केन्द्रीय अध्यक्ष र वरिष्ठ उपाध्यक्षले राजीनामा दिएका छन्। गत स्थानीय तह तथा आम निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको भन्दै अध्यक्ष सुशील गौतम र वरिष्ठ उपाध्यक्ष बलराम प्रजापतिले शनिवार राजीनामा दिएका हुन्।

पार्टी प्रवक्ता अरूण पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा पुनर्गठनको लागि मार्ग प्रशस्त गर्न अध्यक्ष गौतम र वरिष्ठ उपाध्यक्ष प्रजापतिले राजीनामा दिएको उल्लेख छ।

अध्यक्ष गौतमले निर्वाचनमा मौलिक जरोकिलो पार्टीका सदस्य एवं पदाधिकारीहरूले अत्यन्त उर्जावान शैलीमा उम्मेदवारी दिनुभएता पनि निर्वाचन परिचालन समितिले उच्च स्तरको प्रदर्शन गर्न नसक्दा निर्वाचन परिणाम अपेक्षाकृत आउन नसकेको ठहर गर्दे राजीनामा दिएको बताएका छन्।

'पार्टीका विभिन्न समितिहरूबाट प्राप्त प्रतिवेदनको अध्ययन र विश्लेषण पश्चात निर्वाचन परिणामको जिम्मेवारी लिंदै नैतिकताको आधारमा  अध्यक्ष पदबाट  राजीनामा दिएको हुँ,' उनले भने, 'पार्टीको अध्यक्ष पदबाट दिएको राजीनामा मौलिकताको अभियानबाट टाढिन नभई एकमात्र मौलिकतावादी शक्ति मौलिक जरोकिलो पार्टीको पुनर्गठन  रफ्तारमा लैजानको लागि हो।'

पार्टीले कार्यवाहक अध्यक्षको जिम्मेवारी नुमनाथ प्याकुरेललाई तोकेको छ।

कमेन्ट लोड गर्नुस