धनगढी र भीमदत्तमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अनिश्चित
धनगढीः एसियाली विकास बैँक (एडीबी)को सहुलियत ऋण सहयोगमा कैलाली–कञ्चनपुरका चार स्थानीय तहमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने योजना छ। क्षेत्रीय सहरी विकासमार्फत धनगढी उप–महानगरपालिका, गोदावरी, सुक्लाफाँटा र भीमदत्त नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न ऋण माग गरिएको हो।
तर धनगढी र भीमदत्तमा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गाको टुंगो लगाउन ढिलाई भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर ७ को पटेला क्षेत्रमा पर्ने राष्ट्रिय वन क्षेत्रमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न संघीय सरकारबाट जग्गाको भोगाधिकार माग गरिएको छ। तर, संघीय मन्त्रिपरिषदले अझै निर्णय नगरेकाले समस्या भएको हो।क्षेत्रीय सहरी विकास आयोजना, धनगढीका अनुसार धनगढी र भीमदत्तमा फोहोरमैला व्यवस्थापनका लागि ठेक्का सम्झौता भएको छैन।
धनगढी र भीमदत्तमा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको काम अलपत्र परेका बेला गोदावरी र शुक्लाफाँटामा भने रुख कटानीको प्रक्रिया सुरु भएको छ। गोदावरी नगरपालिकामा ५१ करोड ६७ लाख ७४ हजार चार सय ९९ रुपैयाँमा गत साउन २ गते एम/एस सिचुवान इन्जिनियरिङ् कम्पनी चीनसँग सम्झौता भएको छ। सुक्लाफाँटा नगरपालिकामा सोही मितिमा ३० करोड २५ लाख पाँच हजार ६ सय २९ रुपैयाँमा रमन/केएस जेभी, धनगढीसँग सम्झौता भएको छ।
गोदावरी र सुक्लाफाँटामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रुख कटानीको काम सुरु भएको हो। गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले रुख कटानीको काम सुरु भएको बताए। उनले भने, ‘फोहोरमैला व्यवस्थापनको केन्द्रका लागि रुख कटानीको काम सुरु भएको छ।’
फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुसार फोहरमैला व्यवस्थापन स्थल भन्नाले फोहरमैला प्रशोधन गर्नकोे लागि स्थानीय तहले तोकेको स्थल हो। कुहिने र नकुँहिने फोहोरलाई छुट्याएर मात्र एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रमा विसर्जन गरिन्छ। वातावरण संरक्षण ऐन,२०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ अनुसार फोहोरमैला व्यवस्थापन केन्द्रको स्थापनाको लक्ष्य छ।
धनगढी र भीमदत्तमा फोहोरमैला व्यवस्थापनको काम सुरु नभएपनि गोदावरी र सुक्लाफाँटामा फोहोरमैला व्यवस्थापनको काम सुरु भएको हो। क्षेत्रीय सहरी विकास आयोजना, धनगढीका इन्जिनियर संजीवकुमार साहले गोदावरी र सुक्लाफाँटामा फोहोरमैला व्यवस्थापन केन्द्रको काम सुरु भएको बताए। धनगढी र भीमदत्तमा प्रक्रियामा रहेको उनको दाबी छ।
धनगढी उप–महानगरपालिका र भीमदत्त नगरपवालिकाको फोहोरमैला व्यवस्थापन केन्द्र नभएकाले सबैतिर फोहोर देख्न सकिन्छ। कैलाली–कञ्चनपुरका ठुला स्थानीय तहमा फोहोर व्यवस्थापनको लागि स्थान अभाव रहेको छ। धनगढी र भीमदत्तमा फोहोरमैला व्यवस्थापनको काम अनिश्चित बनेको छ। धनगढी उप–महानगरपालिका र भीमदत्त नगरपालिकालाई फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गाको भाोगाधिकार नदिएकाले निर्माण कार्य अनिश्चित बनेको हो। संघीय मन्त्रिपरिषदले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गाको भोगाधिकार दिएको छैन।
क्षेत्रीय सहरी विकासमार्फत धनगढी र भीमदत्तमा फोहोरमैला व्यवस्थापनको काम अलपत्र परेका बेला कैलालीको गोदावरी र कञ्चनपुरको शुक्लाफाँटामा भने काम सुरु भएको छ। फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुने क्षेत्रभित्र रुखकटानीको काम दुबै नगरपालिकामा सुरु भएको हो।