सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ समीकरणले प्रदेश राजनीति उलटफेर, सुदूरपश्चिममा कांग्रेस ‘रिङआउट’

२०७९ पुष १०, ०४:११ टेकसिंह धामी

धनगढीः संघमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण बनेपछि प्रदेशको राजनीतिमा पनि उलटफेर हुने भएको छ। आइतबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रसहितका दलहरूबीच नयाँ समीकरणको सहमति भएको छ।

त्यसो हुँदा सुदूरपश्चिम सरकारमा नेपाली कांग्रेस ‘रिङआउट’ हुने सम्भावना बढेको हो। बालकोट बैठकमा सहभागी एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूबीच सत्ता भागबण्डाको झण्डै टुंगो लागिसकेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई अढाई वर्ष प्रधानमन्त्री दिने गरी सहमति भएको छ। मन्त्री र प्रदेश सरकार पनि मिलिजुली बनाउने निर्णय भएपछि नयाँ राजनीतिक परिदृष्य देखिएको हो। नयाँ गठबन्धन बनेमा सुदूरपश्चिम प्रदेशमा पनि नेपाली कांग्रेसबाहेकको प्रदेश सरकार बन्नेछ। सुदूरपश्चिममा जम्मा ५३ प्रदेशसभा सदस्य रहेकोमा सरकार बनाउन २७ सदस्य आवश्यक पर्छ। 

त्यसो हुँदा नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपा मिलेर सरकार बन्नेछ। यहाँ प्रदेशसभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७ र राप्रपाका १ सांसद छन्। यस्तै सुदूरपश्चिममा कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र सांसद छन्।
 

टेकसिंह धामी, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस