धनगढीका सहकारीमा उद्देश्य विपरीत कारोवार, तीन अर्व ७ करोड ऋण लगानी
धनगढीः धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित सहकारीहरु उद्देश्य विपरीत गएर कारोवार गर्दै आएको देखिएको छ। सहकारी अभियान विपरीत गएर उपमहानगरभित्र सञ्चालित अधिकांश सहकारीले बैंक तथा वित्तीय संस्थाअनुसार नै कारोवार गर्दै आएको खुलेको हो। ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंककै नक्कल गरेर वित्तीय कारोवार हुँदा सहकारी सञ्चालनको मुख्य उद्देश्य नै छायामा पर्न गएको सरोकारवाला बताउँछन्।
अहिले उपमहानगरपालिकाभित्र एक सय ११ सहकारी संस्था सञ्चालनमा छन्। ऋण तथा बचत सहकारी ३६, बहुउद्देश्यी सहकारी १६, कृषि सहकारी ६०, ग्रामीण सहकारी ८ तथा दुग्ध र उपभोक्ता सहकारी गरी एक÷एक वटा सञ्चालनमा छन्। उपमहानगरभित्र सञ्चालिन सहकारीको नियमन गर्ने जिम्ममा उपमहानगरकै भएपनि सहकारी अभियान विपरीत सञ्चालन भइरहेका सहकारीलाई नियमन गर्न समस्या भइरहेको हो।
उपमहानगरभित्र सञ्चालित सहकारीको शेयर कारोवार एक करोड ९१ लाख १७ हजार ८३ रुपैया, सहकारीमा रहेको बचत ५ अर्व ३७ करोड ३३ लाख ४५ हजार ७५३ रुपैयाँ तथा ऋण लगानी ३ अर्व ७ करोड ८४ लाख ७९ हजार रहेको उपमहानगरपालिकाको अभिलेख छ।
एक सय ११ सहकारीमा शेयर सदस्य संख्या २८ हजार ३३ जना पुगेको छ। १४ हजार ८३९ जना पुरुष र १३ हजार १९४ महिला शेयर सदस्य छन्। सहकारी मार्फत कुल २ सय ७० रोजगारी सिर्जना भएको छ। एक सय ४६ महिला र एक २४ पुरुषले ती सहकारीमा रोजगारी पाएका हुन्।
सहकारी र कम्पनीमा फरक भएपनि धनगढीमा सञ्चालित अधिकांश सहकारी, सहकारी की कम्पनी भनेर छुट्याउनै समस्या हुने गरेको अधिकारीहरु बताउँछन्। सहकारी संस्थाहरु सदस्य केन्द्रित हुनुपर्नेमा त्यो देखिदैन्। सदस्यकै नियन्त्रणमा सहकारी चल्नुपर्ने हो, तर कतिपय सदस्य आफ्नो सहकारीमा वर्षमा एक पटक पनि पुग्ने गरेका छैनन्।
सहकारीले कर्जा लगानी गर्दा १८ प्रतिशतभन्दा माथि जानु हुँदैन भनेर केन्द्रिय सन्दर्भ समितिले सीमा निर्धाण गरेपनि कतिपय अवस्थामा यसको पालना हुन नसकेको शेयर सदस्यकै गुनासो छ। सहकारीको दिने कर्जा र लिने बचतमा ६ प्रतिशतभन्दा बढि अन्तर हुनुहुँदैन भनेर व्यवस्था गरिएको छ।
बैंकले गर्ने कारोवार र सहकारीले गर्ने कारोवारमा खासै फरक नभएको धनगढी उपमहानगरपालिकाका सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख हरिसिंह साउँद बताउँछन्। ‘सहकारीले उत्पादनमा बढि जोड दिनुपर्ने हो। सहकारीमा आवद्ध सदस्यले त्पादन गरेका वस्तुको बजारीकरणमा केन्द्रित हुनुपर्नेमा त्यो देखिदैन्।’ तीन खम्बे अर्थनीति अन्तर्गत सहकारीको जुन अभियान थियो, सो विपरीत सहकारी संस्थाले वित्तीय कारोवार गर्दै आएको देखिएको छ।