सुदूरपश्चिमका सवारी चालक अटेरी, लिडार स्पिड गन उपयोगिताविहीन
धनगढीः तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा सुदूरपश्चिममा सडक दुर्घटना बढ्दै गएको छ।
छोटो तथा लामो दुरीका सवारी चालकले सवारी तथा यातायात कानुन विपरीत सवारी चलाउँदा दुर्घटना बढ्दै गएको हो। ट्राफिक प्रहरीले सवारी साधनको चेकजाँच मात्रै गर्ने तर गति नियन्त्रणमा ध्यान नदिँदा राजमार्गदेखि घनाबस्ती र भित्रि सडकमा तीव्र गतिमा सवारी गुड्ने गरेका छन्।
जिल्लामा कानून विपरीत सवारी सञ्चालन हुँदै आएपनि ट्राफिक प्रहरी भने मूकदर्शक बन्ने गरेको छ। कैलाली, कञ्चनपुरमा मात्र नभएर पहाडी जिल्लाका पक्की तथा कच्ची सडकमा हुने दुर्घटनाले हरेक वर्ष सयौँको ज्यान जाने र अङ्गभङ्ग हुने गरेको छ। तीव्र गतिमा सवारी साधन हाक्दा सडक दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए। ‘सडक दुर्घटनाको मुख्य कारण तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारी चलाउनु रहेको हाम्रो अध्ययनले देखाएको छ,' उनले भने, 'सडक दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकलको संख्या रहेको देखिन्छ।’
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा बस्ती नभएको राजमार्ग क्षेत्रमा कार, जिप, भ्यान र पिकअप भ्यानको गति बढीमा ८० किलोमिटर प्रतिघण्टा हुनुपर्छ। बस, मिनिबस, ट्रक र मिनिट्रकको गति पहाडी बाटोमा बढीमा ५० किलोमिटर प्रतिघण्टा र समतल सडकमा बढीमा ७० किलोमिटर प्रतिघण्टा हुनुपर्ने कानुनी व्यवस्था छ। यातायात कानुनमा बाक्लो बस्ती भएको क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटर भन्दा बढी गतिमा कुनै पनि सवारी चलाउन नहुने व्यवस्था गरिएको छ।
तर, धनगढीलगायत कैलालीका सहरी क्षेत्रमा चालकले तीव्र गतिमा रिक्सादेखि मोटरसाइकल र अन्य सवारी हाक्ने गरेको धनगढीका सुरथबहादुर चन्द बताउँछन्। ‘अटो रिक्सा, ट्रयाक्टर, टिप्पर, मोटरसाइकलहरूको आफ्नै रफ्तार हुन्छ,’ उनले भने, ‘सवारीको संख्या कति हुने तथा गति कति हुने भन्ने कुराको नियमन र नियन्त्रण नहुँदा सडक दुर्घटना बढेको बढेइ छ।’
यस्तै,सहरी तथा घना बस्ती र साँघुरा सडकमा तीव्र गतिमा सवारी चलाउनु जोखिमपूर्ण हो भन्ने जान्दाजान्दै नियमनकारी निकायको उदासिनताले सवारी साधन निर्वाध हुइक्याइने गरेको धनगढी-७ का स्थानीय पदम गिरीको गुनासो छ। उनले भने, 'प्रहरीले कारबाही नगर्दा तीव्र गतिमा गाडी चलाउने काम भएको छ। गति नियन्त्रणमा प्रहरीको ध्यान जानु जरुरी छ।'
ट्राफिक प्रहरीले लिडार स्पिड गन प्रयोग गरेर सवारी साधनको गति टाढाबाट नै थाहा पाउन सकिने भए पनि त्यसको प्रयोग हुन छोडेको छ। तर, ट्राफिक प्रहरीको उपस्थिति भएका ठाउँमा यातायात कानुनको उल्लंघन गरि सवारी चलाउने कार्यमा निकै कमी आएको ट्राफिक प्रहरीको दाबी छ।
ट्राफिक प्रहरी पोष्ट भएका क्षेत्रमा यातायात कानुनको उल्लंघन हुन छोडेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सिंहले बताए। ‘ट्राफिक प्रहरी खटिएको क्षेत्रमा ट्राफिक नियम उल्लंघनका घटनामा नियन्त्रण भएको छ। हामीले लिडार स्पिड गन प्रयोग गरेर पनि सवारी साधनको गति कति हुनुपर्छ भनेर सन्देश दिने काम पनि गरेका छौँ। लिडार स्पिड गनको प्रयोग सबै ठाउँ भने गर्न सकिएको छैन।’ ट्राफिक प्रहरीको ध्यान सवारीको ब्लुबुक हेर्नमा मात्रै जाने गरेको सवारी चालकको गुनासो छ। सडकमा तीव्र गतिमा जुनसुकै साधन हुइकिए पनि प्रहरीले चासो दिने गरेको छैन्।