सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सशस्त्र प्रहरीकै एरिया विवादले गोली प्रहारका श्रृखंलाबद्ध घटना

बङ्ग्राकटान
बङ्ग्राकटान
२०७९ पुष ६, ०७:३३ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा श्रृखंलाबद्ध रुपमा अज्ञात समुहबाट गोली प्रहारका घटना भइरहेका छन्। धनगढीका विभिन्न स्थानमा यस्ता घटना दोहोरिरहेको स्थानीयको गुनासो छ। धनगढी–९ बङ्ग्राकटानमा २०५८ देखि गोली प्रहारका घटना बढ्दै गएपछि स्थानीयमा त्रास बढेको हो। 

हरेक वर्ष हुने चोरी तथा लुटपाटका घटनाले असुरक्षित भएको बङ्ग्राकटानको शिवरामनगर टोलका नागरिकले सुरक्षाको अनुभुति गर्न पाएका छैनन्। जुगेडा र बङ्ग्राकटानमा सशस्त्र प्रहरीको बिओपी राखिएपछि तस्करीको मुख्य मार्ग शिवरामनगर टोल हुँदै मोहनासम्मको सडक बनेको छ। 
बेलुकी ७ बजेदेखि १२ बजेसम्म तस्करी हुने गरेको छ। प्रहरी भने रमिते बनेको उनीहरुको गुनासो छ। स्थानीयको घरमा चोरी तथा लुटपाटका घटना रोकिनुको सट्टा बढ्दै गएको छ। शिवराम नगरका स्थानीयले असुरक्षा बढेको भन्दै सशस्त्र प्रहरीको बिओपी स्थापना गर्न पटकपटक माग गर्दै आएपनि कुनै सुनुवाई भएको छैन्। 

मंगलबार बिहान पौने तीन बजे धनगढी उपमहानगरपालिका–९ को शिवरामनगरमा लुटेरा समूहले स्थानीयको घर आँगनमै घुसेर गोली प्रहार गरेका थिए। स्थानीय प्रजापति बिष्टको घरमा रिक्साको ब्याट्री चोरेर लगेको त्यो समूहले उनका भाइको घरको ढोकामा लगाएको ताल्चा नै फोडेर सामान लुट्न खोजेको थियो। तर, भित्रको सामान लुट्न नपाउँदै बिष्ट परिवारले लुटेरा समूहको प्रतिकार गर्दा लुटेराहरूले गोली चलाएका थिए।

प्रजापति बिष्टलाई ताकेर लुटेरा समूहले चार राउण्ड फायर गरे पनि दुईटा फायर मिस भएको थियो। बाँकी दुई राउण्ड भने कसैलाई लागेन। भाग्यले बाँचिएको बिष्टले बताएका छन्। तर, यो क्षेत्रमा २०५८ देखि हरेक वर्ष चोरी तथा लुटपाट हुने गरेको छ। अहिलेसम्म लुटेरा समूहले तीन पटक गोली चलाएको स्थानीय बताउँछन्। लुटपाट तथा गोली प्रहारका घटनाले आफूहरू त्रसित भएको पार्वती बिष्टको गुनासो छ।

‘डर र त्रासमा बस्नु परेको छ। घरमा मान्छे कम भएको दिन डरमै रात बित्ने गर्छ। यो ठाउँमा सशस्त्रको चौकी भए हामीले डरले बस्नु पर्थेन। तस्करी पनि हुने थिएन,’ उनले गुनासो पोख्दै भनिन्। सीमावर्ती क्षेत्र भएकाले तस्कर र लुटेरा समूहबाट असुरक्षित भएको शिवरामनगरका अर्का स्थानीय हर्कबहादुर कुँवरले बताए। २०५८ देखि गरी तीन पटक लुटेर समूहले गोली चलाएको स्थानीयले बताएका छन्। 

धनगढी–१० जुगेडा र वडा नम्बर ९ को बङ्ग्राकटानमा सशस्त्र प्रहरीको बिओपी छन्। दुबै बिओपी शिवरामनगरबाट करिब ५/५ किलोमिटरको दुरीमा छन्। जुगेडा र बङ्ग्राकटनाको मध्यभागमा पर्ने भएकाले तस्करहरूले पनि यो क्षेत्रलाई तस्करीको नयाँ ट्रान्जिट बनाएको अर्का स्थानीय भोजराज दाहालले बताए।

यो क्षेत्र दुबै बिओपीबाट टाढा छ। जुगेडा र बङ्ग्राकटानबाट हुने तस्करी अब यहाँबाट हुन सुरु भएको बताइएको छ। शिवरामनगरबाट मोहनासम्म जाने सडक प्रयोग गरेर रातभरी तस्करी हुने गरेको छ। तस्करी गर्ने समूहले नै स्थानीयको घर तथा पसलमा चोरी गर्ने स्थानीय टेकबहादुर बिष्ट बताउँछन्। शिवरामनगरको एरिया हाम्रो होइन जुगेडाका सशस्त्र प्रहरीले भन्छन् भने बङ्ग्राकटानको बिओपीका प्रहरीले पनि सालघाडीसम्म मात्रै हो आफ्नो एरिया भनेर गस्ती गर्न नमानेको स्थानीयको गुनासो छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस