सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ‘सेन्टर हब’, राजा महेन्द्रको ‘प्लानिङ सहर’ यसरी सुस्तायो

२०७९ पुष ६, १२:५९ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः कञ्चनपुरको महेन्द्रनगर बजारको गल्ली नम्बर १ बजारको पहिलो गल्ली हो। यस गल्लीमा मेडिकल, हार्डवेयरका पसलहरू बढी छन् भने गल्ली नम्बर २ मा बैंक, छापाखाना, इलेक्ट्रोनिक पसल र किराना पसलहरू छन्। गल्ली नम्बर ३ मा अधिकांश मेडिकल छन् भने केही होटल पनि छन्। त्यस्तै गल्ली नम्बर ४ मा होटलहरू बढी छन् भने गल्ली नम्बर ५ मा पुस्तक पसल तथा बंैकहरू बढी छन्। गल्लीहरूमा बनेको कुनै घर ढलिहाले पनि अर्को घरमा कुनै असर गर्दैन। कञ्चनपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जंगबहादुर मल्लले महेन्द्रनगर बजार पुरानो बजार भएको बताउँदै महेन्द्र सरकारले त्यति बेला सीमाक्षेत्रमा इन्डियन सैनिक बसाएको र बजार विस्तार गरेको बताए।

२०१४ सालमा राजा महेन्द्रले देश दर्शनका क्रममा पूर्वको झापा, ताप्लेजुङ, पश्चिमको दार्चुला हुँदै बैतडी पैदल भ्रमण गर्ने क्रममा बाटोमा भेटिने व्यक्तिहरूलाई सोधपुछ गर्दा त्यहाँको नाजुक स्थिति गरिबी, खान नपुग्ने कमाइ, जमिन पनि नभएको अवस्था थाहा पाएपछि महेन्द्रले त्यहाँका जनतालाई तराई झर्न आग्रह गरे। २०१८ सालदेखि पहाडबाट तराई बसाइँ सर्न सुरु भएकोे इतिहास छ। त्यति बेला महेन्द्रननगर बजार गौचरण, खेत र जंगल थियो भने थारुहरूको बस्ती पनि त्यो बेला थियो। २०१८ सालमा राजा महेन्द्रले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिए। त्यतिबेला राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बनाउन लगाएका थिए।

नेपाल अधिराज्यकै प्लानिङ सहर हो महेन्द्रनगर। महेन्द्रनगरमा बस्ती बस्न थालेपछि २०२५ सालमा प्रशाशनिक भवन निर्माण सुरु भयो। सुरुमा प्रशासकीय भवन, कारागार, जिल्ला हुलाक, स्वास्थ्य केन्द्र र कर्मचारीहरूको आवास निर्माण सुरु भएको थियो। प्रशासकीय भवन निर्माण सुरु भएसँगै त्यतिबेलाको बेलौरी सदरमुकाम पनि महेन्द्रनगर स¥यो। २०२७ सालमा राजा महेन्द्र अवलोकनका लागि वनबासा पुलमा पुग्दा सिँचाइको समस्या देखेपछि महाकाली सिँचाइ नहरको सुरुवात गरेका थिए। नहरको डीपीआर इंग्ल्यान्डको कम्पनीले तयार पारेको थियो। त्यति बेला बर्माबाट नेपाल फर्कन बाध्य नेपालीहरूलाई राजा स्वयं बर्मा गई त्यहाँबाट नेपाल आउने सबैका लागि महेन्द्रनगर, भैरहवा, बुटवलमा प्रवासी नेपालीहरूको बसोबास गराएका हुन। महेन्द्रनगर बजारको स्थापनापश्चात् पञ्चायतको रजत जयन्तीका बेला महेन्द्रनगर बजारमा ‘राजा महेन्द्र स्मार’ स्थापना गरिएको हो। 

सुदूरको प्लानिङ सहर
सुदूरको सीमा क्षेत्रमा पर्ने महेन्द्रनगर बजारलाई राजा महेन्द्र सरकारको पालादेखि व्यवस्थित बजारका रुपमा लिने गरिन्छ। सुदूरकै प्लानिङ सहरको रुपमा स्थापित महेन्द्रनगर बजार हेर्नकै लागि भनेर आन्तरिक एवं वाह्यक पर्यटकको निकै चहलपहल हुने गरेको थियो। नेपाल भारत जोड्ने सय वर्ष पुरानो जिर्ण पुल दैनिक चार घण्टा मात्र खुल्थ्यो। कञ्चनपुर उद्योग वाणिज्य संघको अगुवाईमा चार घण्टाबाट समय बढाएर ७ घण्टा खुल्ने बनाइयो। चहलपहल थोरै भएपनि बढ्न सुरु भएको थियो। तर कोभिडपछि महेन्द्रनगर विस्तारै पुनः सुस्ताउँदै गयो भने धनगढी एउटा ‘सेन्टर हब’को रुपमा स्थापित हुँदै गएको कञ्चनपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मल्ल बताउँछन्।

किन सुस्तायो महेन्द्रनगर
पश्चिम नेपालकै प्रमुख सहरमध्येको एक महेन्द्रनगर बजार। ब्रह्मदेव जस्तो पुस्तैनी बजार पनि यहीँ छ। ब्रह्मदेवबाट सुदूर पहाडका आम नागरिकले नुन लगायत दैनिक उपभोग्य सामान किनेर, तथा आफूले उत्पादन गरेका कृषि उपजसँग साटेर लैजाने गर्थे। त्यति पुरानो सहर कुनै समयताका भव्य थियो। बाजेबराजुका पालामा ठूलो सहर पश्चिम नेपालको कुनामा एउटा मात्रै थियो। त्यही ठूलो सहर विस्तारै ओझेलिँदै गएर महेन्द्रनगर बजार सुनसान हुँदै भयो। महेन्द्रनगरमा स्थापित कतिपय व्यवसायी धनगढीमा लगानी बढाउन सुरु गरे। पुरानो बजार सुस्ताउँदै गएको विषयमा कञ्चनपुरको निजी क्षेत्र भने चिन्तित बनेको छ। 

तत्कालिन माओवादी द्धन्द्धको असर
तत्कालिन माओवादी द्वन्द्वताका महेन्द्रनगर बजारले विकासको गति लिन सकेको थिएन। असुरक्षा तथा संवेदनशीलताका कारण आम नागरिक सुरक्षा खोज्दै धनगढी भित्रिन पुगेका थिए। पुरानोमध्येकै सानो सहर धनगढी फैलियो, महेन्द्रनगर भने ओझेमा पर्दै गएको हो। द्वन्द्वमै महेन्द्रनगरले विकासको गति लिन सकेको थिएन भने धनगढीले लय समात्यो र विकासमा फड्को मार्दै अगाडि बढ्यो। कुनैताका ठुलै सहर कहलिएको महेन्द्रनगर विस्तारै ओझेलिदै गएको हो।

सीमा पुल बाधक
पुरानोमध्येको सहर महेन्द्रनगर अर्थात् भीमदत्तनगर क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश नागरिक तथा महेन्द्रनगरमै व्यापार व्यवसाय गर्दै आएका उद्योग–व्यवसायी पनि पछिल्लो एक दशकयता धनगढी सरेका हुन्। कारण थियो, महेन्द्रनगरको व्यापार खस्कँदो। व्यापार खस्कनुको कारण थियो विकास निर्माण र बसाइँसराइका लागि आकर्षित नहुनु, बसाइँसराइमा आकर्षण नहुँदा त्यहाँ विकास निर्माणको गति सुस्ताउँदै जान्छ। हो, त्यही सुस्ताउँदो गतिमा थियो महेन्द्रनगर। त्यहाँका प्रतिष्ठित व्यापारी कोही धनगढी त कोही अत्तरिया क्षेत्रतिर सरे। 

भारतीय ग्राहकमा निर्भर ब्रह्मदेव
सदरमुकाम महेन्द्रनगरबाट करिब १२ किलोमिटर उत्तरपश्चिम दूरी पार गरेपछि ब्रह्मदेव पुगिन्छ। महाकाली नदी छेउमै रहेको ब्रह्मदेवमा सडकको दायाँबायाँ लहरै साना पक्की र केही अस्थायी प्रकृतिका घर देख्न सकिन्छ। होटल, लत्ताकपडा, खाद्यान्न, किराना, मिठाइ तथा फलफूलको पसल ती अस्थायी प्रकृतिका घरहरुमा राखेको देखिन्छ। भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव भारतसँग जोडिएको पुरानो नेपाली बजार हो। सदरमुकाम महेन्द्रनगर हुनुअघिसम्म ब्रह्मदेवबाट भारतसँग कारोबार हुने तथा सुदूरपश्चिमका पहाडी क्षेत्रका लागि नुन, तेल, खाद्यान्नलगायतका सामान आपूर्ति हुने गरेको बूढापाका बताउँछन्।

किसान नेता भीमदत्त पन्तले नुन कब्जा गरेर सर्वसाधारणलाई बाँडेको ठाउँलगायत लामो इतिहास बोकेको ब्रह्मदेव बजार भारतीय ग्राहकमा निर्भर छ। प्रत्येक वर्ष फागुपूर्णिमादेखि असार पूर्णिमा र दसैँमा भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरिमा नवरात्रि मेलामा ब्रह्मदेव बजारमा चहलपहल बढ्ने गरेको छ।
 

कमेन्ट लोड गर्नुस