सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘अटेरी’ भारतले महाकालीको बाँध अझै हटाएन, विरोध चर्किदै

नेपाली प्रशासन निरीह

२०७९ पुष ४, ०६:५९ टेकसिंह धामी

धनगढीः भारतीय पक्षले महाकाली नदी किनारमा निर्माण गरेको बाँध नहटाएपछि दार्चुलामा प्रदर्शन गरिएको छ। सोमबार भारतविरुद्ध नारावाजी तथा विरोध प्रदर्शन गरिएको हो। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्थानीयहरुको सहभागितामा आज दिनभर भारत विरोधी प्रदर्शन गरिएको थियो। 

विरोधका क्रममा विप्लवका कार्यकर्ता र स्थानीयहरु भारत विरोधी नारा घन्काउँदै निर्माणाधिन तटबन्धन क्षेत्रमै पुगेका थिए। उनीहरुले भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको विरोध गरिरहेका हुन्। यस्तै भारतीय थानामा ७ जना नेपालीमाथि लगाएको झुट्ठा मुद्दा फिर्ताको मागस्वरुप पनि आफूहरु विरोधमा उत्रिएको उनीहरुले बताएका छन्। 

केही दिनअघि महाकाली क्षेत्रमा भारतीयहरुले नेपालतर्फ ढुंगा प्रहार गर्दा चार जना बालक घाइते भएका थिए। तर, भारतीय पक्षले नेपालीहरुले ढुंगा प्रहार गर्दा कामदार घाइते भएको भन्दै ७ जनामाथि मुद्दा दर्ता गरेपछि स्थानीय आक्रोशित बनेका छन्। भारतले सीमा क्षेत्रका नेपाली नागरिकमाथि ज्यादती गरेको बताउदै उक्त पार्टीका कार्यकर्ता लामो समयदेखि विरोध गरिरहेका छन्। 

उनीहरुले भारतद्धारा अतिक्रमित दार्चुलाको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ताको मागसमेत गरेका छन्। नेपाली प्रशासन भारतसामु निरीह भएको उनीहरुको आरोप छ। प्रदर्शनपछि केहीबेर दार्चुला सदरमुकाम क्षेत्रमा तनाव सृजनासमेत भएको बताइएको छ।

तर, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक तर्क पाण्डेयले भने सामान्य विरोध प्रदर्शन मात्र भएको दाबी गरे। पाण्डेयले भने, ‘विप्लवको पूर्व घोषित कार्यक्रम मात्र भएको हो। अन्य कुनै घटनाहरु भएका छैनन्। आजकल विप्लवका कार्यकर्ताहरुले सामान्य विरोधका नियमित कार्यक्रमहरु गरि नै राखेका छन्।’ यस्तै उनले भारतले विवादित क्षेत्रबाहेक अरु स्थानहरुमा मात्र तटबन्धन निर्माणको काम गरिरहेको उनले बताए।

बाँध अझै हटाइएन 
नेपालतर्फ महाकालीको धार परिवर्तन हुने गरी भारतले निर्माण गरिरहेको तटबन्धको संरचना १० दिनभित्र हटाउन नेपाल र भारतीय प्रशासनबीच सहमति भएको थियो। तर, भारतले सहमति जनाएपनि कार्यान्वयन गर्नमा भने अटेरी गरिरहेको छ। महाकाली नगरपालिका–४ स्थित रिङ्गे ताल क्षेत्रमा तटबन्ध निर्माण गर्दा बनेको बाँध नहटाइएको बताइएको छ।

१० दिन समय बित्दा पनि भारतीय पक्षले महाकाली नदीमा बनाएको बाँध नहटाएको कम्युनिष्ट पार्टीका दार्चुला सचिव लोकेश नेपालीले बताए। ‘भारतले अझैसम्म त्यो महाकालीमा बाँध हटाएको छैन। सहमति भयो मात्र भनियो। काम भएको छैन,’ उनले भने, ‘सहमति भएअनुसार काम पुरा नहुँदासम्म हामी निरन्तर संघर्ष गर्छौ।’ रिङ्गे ताल क्षेत्रमा बनेको बाँधले नदीको धार नेपालतिर फर्किएको छ। यसअघि नेपाल र भारतीय प्रशासनबीचको छलफलमा भारतीय पक्ष १० दिनभित्र उक्त बाँधको निकास खोज्न र तटबन्ध विवाद सुल्झाउन सहमत भएको थियो। 

मंसिर १८ मा भारतीय पक्षले महाकाली नेपालतिर धकेल्ने गरी एकलौटी तरिकाले तटबन्ध गर्न थालेपछि दार्चुलाका स्थानीय भारतको विरोधमा उत्रिएका थिए। त्यसपछि विरोध बढ्ने देखिएपछि नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पनि पठाएको थियो। त्यसपछि नेपाल र भारतका स्थानीय प्रशासनबीच सीमामा भइरहेको तनाव सुल्झाउने सहमति भएको थियो।

 


 
 

टेकसिंह धामी, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस