बाजुरामा अनेरास्ववियुका नेता अयडीको हत्या विरोधमा यातायात बन्द
धनगढीः बाजुरामा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको हत्या प्रकरणको विरोधमा यातायात सेवा बन्द गरिएको छ। घटना भएको एक महिना बित्दासमेत हत्यामा संलग्नलाई कारवाहीको दायरामा नल्याइएको भन्दै अनेरास्ववियुले शनिबार साँझदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको हो।
अनेरास्ववियुले यातायात बन्दको घोषणा गरेपछि शनिबार साँझदेखि बाजुरामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चल्न नसकेको प्रहरीले जनाएको छ। जसका कारण काम विशेषले विभिन्न गन्तव्य जाने यात्रुहरु समस्यामा परेका छन्।
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका दिन भएको विवादलाई लिएर त्रिवेणी नगरपालिका ७ का अयडीमाथि कुटपिट गरिएको थियो। गठबन्धनका कार्यकर्ताले घरमै आक्रमण गरेर राति अयडीमाथि कुटपिट गरेको अनेरास्ववियुले बताउदै आएको छ। उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा निधन भएको थियो।