बैतडीमा सुन्तलाको उत्पादन घट्दै
बैतडी: बैतडीमा सुन्तलाको उत्पादन घट्दै गएको छ। सुन्तला उत्पादनका लागि प्रख्यात जिल्लाको रुपमा रहेको बैतडीमा पछिल्लो समयमा सुन्तलाको उत्पादन घट्दै गएको हो। विभिन्न रोगका कारणले सुन्तलाका रुख सुक्दै गएपछि सुन्तलाको उत्पादानमा कमी आएको छ।
टुप्पोबाट रुख सुक्ने रोगले बारीका सबै सुन्तलाका रुख सुकीसकेको दशरथचन्द नगरपालिका ३ दुर्गाभवानीका केशव क्षेत्रीले बताए। सुन्तलाबाटै परिवारको खर्च चल्ने अवस्था रहेकोमा अहिले रुख सुकेर सखाप भएको उनले बताए। उनले भने ‘सुन्तला हाम्रो परिवारको जीविकोपार्जनको आधार थियो, तर पछिल्लो समयमा टुप्पोबाट सुन्तलाका रुख सुकेर सबै सखाप भईसकेका छन्, ५ सय रुख भएको बारीमा अहिले सुन्तलाको सुकेका मुढा मात्रै बाँकी छन।’
जिल्लाको दुर्गाभवानी क्षेत्रलाई सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएको थिया। तर अहिले गाउँमा सुन्तलाका बोट सुकिसकेको स्थानीय कैलाश पाण्डेयले बताए। उनले भने ‘हाम्रो दुर्गाभवानी क्षेत्र सुन्तला उत्पादनका लागि पकेट क्षेत्र हो ।
तर सुन्तलाको बोटको टुप्पोबाट सुक्ने रोगका कारण सबै सखाप भए, अहिले सुन्तलाको स्वादका लागि खोजी गर्नुपर्ने स्थिती छ।’ जिल्लाको दुर्गाभवानी, नागार्जुन,देउलेक, सदरमुकाम क्षेत्र, वासुलिंग लगायतलाई साविकको जिल्ला कृषि विकास कार्यालयले सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा घोषणा गरेको थियो।
आजभन्दा १० बर्ष अघि सम्म बैतडीको सुन्तला नेपालका लागि मात्रै नभएर सीमावर्ती भारतीय बजार झुलाघाट सम्म पुग्ने गर्दथ्यो। तर पछिल्लो समयमा सुन्तलाको उत्पादन ह्वात्तै घटेको सुर्नया ३ का मञ्जु भट्टले बताइन्। उनले भनिन् ‘अहिले कहीँकतै मात्र सुन्तलाको बोट देख्न सकिन्छ।
सुन्तलाका रुखहरु टुप्पोबाट सुकेर सखाप भईसकेका छन्।’ जिल्लाको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सुन्तलामा कालो थोप्ले र ग्रिनिङ रोगले सुन्तला खेती मासिदै गएको दोगडाकेदार गाउँपालिका कृषि शाखा प्रमुख रेनु भट्ट पन्तले बताइन्। उनले भनिन् ‘अहिले हामीले अनुगमन गरेका ठाउँमा सुन्तलाका बोटहरु सुक्न थालेको पाइएका छन्। सुन्तला खेती मासिदै गएको छ।’