सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा झण्डै १९ करोडको अस्पताल भवन पाँच वर्षदेखि अलपत्र, सेवा प्रवाहमा समस्या

२०७९ पुष १, १२:१९ कमल सावद

धनगढीः सेती प्रादेशिक अस्पताल परिसरभित्र झण्डै १९ करोडको भवन पाँच वर्षदेखि अलपत्र छ। संघीय आयोजना कार्यान्वयन इकाइले सेती अस्पताल परिसरभित्र नयाँ भवन निर्माणका लागि २०७४ कात्तिक २८ गते सम्झौता गरेको थियो। आयोजना कार्यान्वयन इकाइ र एमएस–बानिया–थेगिम जेभीसँग १८ करोड ७४ लाख ८२ हजारमा भवन निर्माणका लागि सम्झौता गरिएको थियो।

निर्माण कम्पनीले २०७७ बैशाख २७ गतेसम्म भवन निर्माणको काम पूरा गर्नुपर्ने थियो। तर अस्पतालको भवन निर्माणको काम पाँच वर्षसम्म अलपत्र छ। दुई वर्ष ६ महिनामा पूरा गर्नुपर्ने काम अहिलेसम्म पूरा भएको छैन्। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार गठन नहुँदै भवन निर्माणको ठेक्का भएको बताए। 

धनगढीको मुख्य सडकमा परेको अस्पतालको ओपीडि भवन भत्काउनु पर्ने भएको छ। पुराना भवन भत्काउदा अस्पताललाई ओपिडी सेवा सञ्चालनमा समस्या हुने देखिएको छ। नयाँ भवनबाट ओपिडी र प्रसूति सेवा सञ्चालन गर्ने मनसायमा अस्पताल छ। तर भवन निर्माणको काम पाँच वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको सेती प्रादेशिक अस्पतालका प्रमुख हेमराज पाण्डेले बताए।

‘सहरी विकासले निर्माण थालेको भवनको काम पूरा भए, सो भवनमा ओपीडि सार्ने सोच बनाएका थियौ। तर काम पूरा भएको छैन। ओपिडी भवन भत्काउदा सेवा कताबाट दिने होला?,’ उनले भने। 
अस्पतालमा भौतिक संरचनाको अभाव रहेको भन्दै प्रदेश सरकारले नयाँ भवनका लागि पनि प्रक्रिया थालेको छ।

अस्पतालको प्रसूति रहेको क्षेत्रमा दुई अर्बको लगानीमा नयाँ भवन निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। बेसमेन्टसहितको सुविधासम्पन्न भवन निर्माणको प्रकृयामा प्रदेश सरकार रहेको छ। सामाजिक विकास मन्त्रालयका इन्जिनियर होमराज तिमिल्सेनाले डीपीआरको काम अन्तिम चरणमा रहेको बताए। अस्पतालको प्रसूति विभाग रहेको क्षेत्रमा नयाँ सुविधायुक्त भवन निर्माण गरिने छ।

प्रदेश सरकार एक्लैले मात्र अस्पताल भवन निर्माण गर्न नसक्ने भएकाले संघीय सरकारबाट बजेट माग गर्ने योजना बनाइएको छ। सेती प्रादेशिक अस्पतालमा भवन अभावका कारण उपकरण जडान तथा सञ्चालनमा समेत समस्या छ।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस