साल्ट ट्रेडिङ धनगढीले खान अयोग्य नुनको प्रयोगशाला परीक्षणको रिपोर्ट लुकायो
धनगढी: साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले दुई वर्ष अघि अस्वीकृत भएको नुनको गत महिना प्रयोगशाला परीक्षण गर्न नमुना संकलन भएको थियो।
अखाद्य नुन बजारमा पठाउने चलखेल भएको भन्ने समाचार प्रकाशित भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले परीक्षणका लागि नमुना लगेको थियो। गत महिना नै परीक्षण रिपोर्ट तयार गरि साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीलाई दिइएको भइएको छ। तर रिपोर्ट नै प्राप्त नभएको साल्ट ट्रेडिङ धनगढी कार्यालयले दाबी गरेको छ। २०७७ असोजमा साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले खरिद गरेको २ हजार ५ सय मेट्रिक टन फ्रि फ्लो नुन खान अयोग्य भनेर वितरण नगर्ने निर्णय भएको थियो। गत कार्तिकमा आएर त्यो नुन बजारमा पठाउने चलखेल सुरु भएको खबर दिनेशखबरमा छापिएको थियो।
दुई वर्ष अगाडि साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीको दुई नम्बर गोदाममा राखिएको नुन जनस्वास्थ्यका लागि हानिकार भन्दै अस्वीकृत गरिएको थियो। तर, त्यहीँ नुन दुई वर्षपछि प्रयोगशाला परीक्षणको नाटक रचेर बजारमा लैजाने चलखेल साल्ट ट्रेडिङ रहेको आशंका थप बलियो भएको छ। किनभने, परीक्षण रिपोर्ट लुकाउने प्रयासमा साल्ट ट्रेडिङको धनगढी कार्यालय लाग्नुले थप आशंका उब्जिएको छ।
२०७७ को असोजमा साल्ट टेड्रिङ कर्पोरेसन धनगढीले भारतको कचव्राइन केमिकल्सबाट ५५ हजार बोरा फ्रि फ्लो नुन खरिद गरेको थियो। यो नुन आयात गरेर साल्ट ट्रेडिङ धनगढीले जाँच गर्दा खान अयोग्य देखियो। नुनमा कैफियत भेटिएपछि साल्ट ट्रेडिङ कर्पोरेसन केन्द्रिय कार्यालय काठमाडौंबाट तुलेश्वर शाह नाम गरेका कर्मचारी आएर कम्पनीले आयात गरेको नुन खाए क्यान्सर र मुटु रोग हुने भन्दै सप्लायर्स कम्पनीलाई फिर्ता लान भनिएको थियो। तर त्यो नुन अहिलेसम्म साल्ट ट्रेडिङ धनगढीको गोदामै छ। अहिलेको बजार मुल्यअनुसार ५ करोड रुपैयाँको यो अखाद्य नुन बिक्री गर्ने चलखेल सुरु भएको भन्दै गत कार्तिक २४ गते दिनेशखबरमा समाचार प्रकाशित भयो।
साल्ट ट्रेडिङ कर्पोरेसनको केन्द्रिय कार्यालयबाट यहीँ नुन बिक्री गर्ने प्रयोजनका लागि एक जना कर्मचारी धनगढी आएपछि समाचार बाहिर आएको थियो। कार्तिक २४ गते नै प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गरेर नतिजा विश्लेषण गरि रिपोर्ट साल्ट ट्रेडिङ धनगढीलाई बुझाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले दिनेशखबरलाई बताए।
'साल्ट ट्रेडिङलाई हामीले जुन परीक्षण गर्न नमुना ल्याएका थियौँ त्यसको रिपोर्ट दिएका छौँ,' उनले भने, 'साल्ट ट्रेडिङलाई हामीले के जानकारी गराएका छौँ भने अबदेखि प्याकेजिङ गर्दा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पुगाएर मात्रै प्याक गर्ने, नुनमा केही खराबी छ भने त्यस्तो नुन प्याक नगर्ने भनेर निर्देशन दिएका छौँ।'
साल्ट ट्रेडिङको गोदाम नम्बर २ मा रहेको ५५ हजार बोरा फ्री फ्लो नुनका अलावा दुई वर्ष अगाडि भारतबाटै प्याकेजिङ गरेर ल्याएको १५ हजार बोरा आयो नुन पनि साल्ट ट्रेडिङ परिसरमा रहेको मन्दिर नजिकै त्रिपालले छोपेर राखिएको समाचार स्रोतको दाबी छ। उपभोग्य मिति प्याकेजिङपछि दुई वर्ष मात्रै हुने हुँदा यो नुन पनि खान अयोग्य भएको छ।
तर त्रिपालले छोपेर राखिएको नुनको परिमाण कति हो भनेर साल्ट ट्रेडिङ धनगढी कार्यालयले जनाकारी दिन अस्वीकार गरेको छ। यस्तै, नमुना परीक्षणको रिपोर्ट पनि मंगलबारसम्म कार्यालयमा प्राप्त नभएको जिकिर गरिएको छ। साल्ट ट्रेडिङ धनगढीका निमित्त प्रमुख तेजबहादुर कुँवरले एक महिना अगाडि संकलन भएको नमुनाको रिपोर्ट प्राप्त नभएको भन्दै परीक्षणको नतिजा लुकाउने काम गरेका छन्। 'उहाँहरूले हामीलाई पठाएको भन्नु भएको होला तर हामी कहाँ रिपोर्ट पुगेको छैन,' उनले भने, 'हुलाकबाट आउँदै छ होला, परीक्षणको प्रतिवेदन हामीलाई दिनु भएको छैन।'
समाचार स्रोतका अनुसार दुई वर्षदेखि भारतीय सप्लायर कम्पनीलाई फिर्ता गर्नुपर्ने नुन अहिले बिक्री गरेर कम्पनीलाई पैसा भुक्तानी नगरी त्यो रकम कमिसनको रुपमा खाने चलखेल भएको हो। उक्त कामका लागि आम निर्वाचनको समय ताकेर काठमाडौंबाट कर्मचारीलाई परिचालन गरिएको थियो। दुई वर्ष अगाडि नै साल्ट ट्रेडिङकै अधिकारीले स्वास्थ्यका लागि हानिकारक भन्दै अस्वीकृत गरेको नुनको अहिले आएर गुणस्तर जाँच गर्ने नाममा बिक्री गर्ने बाटो खुलाउने प्रक्रियामा साल्ट ट्रेडिङ लागेको देखिन्छ। तर गोदाम र मन्दिर नजिकै रहेको नुन बिक्री नगर्ने साल्ट ट्रेडिङ धनगढीका निमित्त कुँवर बताउँछन्। 'गोदाम नम्बर २ मा हामीले नुन राखेका छौँ। मन्दिर नजिकै पनि नुन राखिएको छ। त्यो नुन अब के गर्ने भनेर केन्द्रले निर्णय गर्छ। तर बिक्री गर्दैनौँ।'
दुई वर्षदेखि गोदाममा राखिएको नुनको बोरामा प्याकेजिङ गरिएको मिति उल्लेख भए पनि उपभोग गरिसक्नुपर्ने मिति उल्लेख गरिएको छैन। सामान्यतया कुनै पनि खाद्यवस्तुको निश्चित उपभोगको मिति हुन्छ। तर साल्ट ट्रेडिङ धनगढीको गोदामा राखिएको ५ करोडको नुनमा उपभोग गरिसक्नुपर्ने मिति उल्लेख छैन।
यस्तै दुई वर्ष अगाडि खान अयोग्य ठहर भएको नुनको अहिले प्रयोगशाला परीक्षण गराउनु र परीक्षणको नतिजा लुकाउनुले जसरी पनि मोटो रकम कमिसन खाएर रिजेक्टेड नुन बिक्री गर्नु रहेको पो हो कि भन्ने आशंका उब्जिएको छ।