बैतडीमा तीनओटा लघुजलविद्युत आयोजना निर्माण
बैतडी –बैतडीमा तीनओटा लघुजलविद्युत आयोजना निर्माण गरेको छ। जिल्लाको सिगास गाउँपालिकाले स्थानीयहरुको विद्युत सेवामा पहुँच पुर्याउन तीनओटा लघुजलविद्युत आयोजना निर्माण गरेको हो।
गएको ५ बर्षमा पालिकामा तीनओटा नयाँ जलविद्युत आयोजना निर्माण भएका छन् भने दुईओटाको मर्मत सम्भार गरिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए।
गाउँपालिकाको वडा नम्बर ९ मा ४६ किलोवाटको दोगाड लघु जलविद्युत आयोजना निर्माण गरिएको छ। ५ सय घरधुरीमा बत्ती बलिरहेको सो योजना १ करोड २५ लाखको लागतमा निर्माण सम्पन्न भएको अध्यक्ष धामीले बताए।
यस्तै वडा नम्बर ६ मा रहेको थलालीगाडमा २ करोडको लगानिमा २३ किलोवाटको लघु जलविद्युत आयोजना निर्माण गरिएको छ। जसले १ सय ५० घरधुरी लाभान्वित भएका छन्।
यस्तै सोही वडामा २ करोडको लगानिमा भोगेखोला लघुजल विद्युत आयोजनाको काम अन्तिम चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्र ओझाले बताए । एक सय घरधुरीमा बत्ती बाल्ने लक्ष्य सहित सो योजना निर्माण गरिएको जनाइएको छ।
यस्तै वडा नम्बर ९ को च्वाँ लघुजल विद्युत आयोजना र पातलीगाड लघुजल विद्युत आयोजनाको मर्मत सम्भार गरी सञ्चालनमा ल्याइएको अध्यक्ष धामीले बताए।