बैतडीको पाटन नगरपालिकाले बनाएको भवनमा कमसल सामग्री प्रयोग
बैतडी – बैतडीमा एक पालिकाको भवन निर्माणमा कमसल सामग्री प्रयोग भएको पाइएको छ।
जिल्लाको पाटन नगरपालिकाको नवनिर्मित भवनमा कमसल सामग्री प्रयोग भएको पाइएको हो। नगरपालिकाका जनप्रतिनिधिहरुले अनुगमन गर्दा भवन निर्माणमा कमसल सामग्री प्रयोग भएको पाइएको हो।
भवनमा सिमेन्टको प्रयोग कम भएको नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए। उनले फर्समा सिमेन्ट कम बालुवा बढी प्रयोग भएको पाइएको बताए।
पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराको संयोजकत्वमा रहेको अनुगमन टोलीले नवनिर्मित नगरपालिका भवन अनुगमन गरेको थियो।
भवन निर्माण कार्यमा निकै कमजोरी रहेको बोहराले बताए। नगरपालिकाको चारतले भवनमध्ये माथिल्लो दुई तला शिवलिंग प्रशंसा जेभीले निर्माण गरिरहेको छ।
२ करोड ८० लाखमा ठेक्का सम्झौता भई निर्माण भइरहेको भवनमा अनुगमन गर्दा कमसल सामग्री प्रयोग भएको फेला परेको नगरपालिकाका इन्जिनियर राजेन्द्रसिंह ठगुन्नाले स्वीकार गरे।
निर्माण कम्पनीलाई अहिले सम्म १ करोड ३० लाख भुक्तानी भइसकेको छ भने अरु भुक्तानी हुन बाँकी रहेको बताइएको छ।