सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो रह्यो मुख्यमन्त्री भट्टको पाँच वर्षे कार्यकाल

२०७९ मंसिर २७, ११:४३ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले २०७४ फागुन ७ गते पद्‌भार ग्रहण गरे। उनको कार्यकाल सकिदैछ। सुदूरपश्चिम प्रदेश सभामा नयाँ सदस्यहरु निर्वाचित भएसँगै मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारको पाँच वर्षे कार्यकाल सकिदैछ। प्रदेश सरकारका मन्त्रीहरु फेरिएका भएपनि मुख्यमन्त्री भट्टले भने पूरा कार्यकाल बिताउन सफल देखिएका छन्। तर उनको पाँच वर्षे कार्यकाल भने सिक्दैमा बितेको कतिपयको टिप्पणी छ।

निर्वतमान प्रदेश सभा सदस्य कृष्ण चौधरीले पहिलो प्रदेश सरकार भएकाले अलमल भएको बताए। उनले भने, ‘धेरै काम गर्न सकेनौँ होला। तर प्रदेश सरकारको पाँच वर्षको कामबाट म सन्तुष्ट छु। पहिलो प्रदेश सरकार भएकाले पनि केही काम गर्न सकिएन होला। सिक्दैमा पाँच वर्ष बितेको छ।’
सुदूरपश्चिम प्रदेश सभाबाट ६० कानून, झण्डै चार सय किलोमिटर सडक कालोपत्र, तीन सय मिटर सडक कालोपत्रका लागि बहुवर्षीय ठेक्का सम्झौतालाई प्रदेश सरकारको मुख्य उपलब्धिको रुपमा हेरिएको छ।

पाँच वर्षमा सेती प्रादेशिक अस्पतालमा उपकरण जडानलाई पनि प्रदेश सरकारले आफ्नो उपलब्धि मानेको छ। मुख्यमन्त्री कृषि कार्यक्रमलाई प्रदेश सरकारले उपलब्धि रहेको सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए। मुख्यमन्त्री भट्टले भने, ‘सहरी क्षेत्रमा विकास नभएको देखिएको होला। तर गाउँ–गाउँमा विकास पुगेको छ। गाउँमा कालोपत्र भएका सडकहरु छन्। प्रदेश सरकारले विकास गाउँसम्म पुर्याएको छ।’

संघीयतापछिको पहिलो प्रदेश सरकारले विकासको मार्गचित्र तयार गरेको दाबी गरिएको छ। प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कानून र मापदण्डहरु तयार भएकाले अबको सरकारलाई सहज हुने अनुमान गरिएको छ। प्रदेशका पहाडी तथा दुर्गम क्षेत्रमा पनि प्रदेश सरकार भएको अनुभुति हुने योजनाहरु समावेश गरिएको प्रदेशका मुख्यमन्त्री भट्टले बताए। भट्टले भने, ‘सबै क्षेत्रमा काम भएको छ।’

सुदूरपश्चिम प्रदेश सरकारको पाँच वर्षको कार्यकाल सिक्दैमा बितेको छ। संघीयताको पहिलो सरकारले देशको कानून, नयाँ कानून निमार्णका प्रक्रिया, विकास निर्माण लगायतका विषय सिक्दैमा पाँच वर्ष वितेको हो।

संघीयता देशको नयाँ व्यवस्था भएकाले सिक्दैमा पाँच वर्ष बितेको तर्क गरिएको छ। प्रदेश सरकारले पाँच वर्षमा विकासका लागि मार्ग चित्र भने तयार गरेको दाबी गरिएको छ।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस