सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट सुरु गरिएको ‘आमा बचाउ’ अभियान के हो?

२०७९ मंसिर २६, १०:३९

धनगढीः धनगढी उपमहानगरपालिकाले प्रसुति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। ‘आमा बचाउ’ अभियान अन्तर्गत उपमहानगरपालिकाले प्रसुति सेवाका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको हो। आमा र शिशुको जीवन रक्षाका लागि ‘आमा बचाउ’ कार्यक्रम पहिलो पटक उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको छ। 

ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले धनगढीबाट ‘आमा बचाउ’ अभियान कार्यक्रम सुरु गरेको नगरप्रमुख गोपाल हमालले बताए। ‘प्रसूति सेवाका लागि अस्पतालसम्म निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ। हाल यसका लागि दुईवटा एम्बुलेन्सको व्यवस्था गरिएको छ। ती एम्बुलेन्स प्रसुति महिलाका लागि मात्र प्रयोग हुनेछन्। अन्य विरामीका लागि उपलब्ध एम्बुलेन्स प्रयोग हुने छैनन्।’

‘आमा बचाउ’ अभियान अन्तर्गत उपमहानगरले प्रसूति सेवाका लागि दुईवटा एम्बुलेन्स तयारी अवस्था राखेको हो। एम्बुलेन्स प्रयोग गरेवाफत कुनै शुल्क लाग्ने छैन, उपमहानगपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माले भने। ‘यो सेवा धनगढीबाट सुरु भएर क्रमिक रुपमा १९ वटै वडाभित्र सञ्चालन हुनेछ। विशेष गरी ग्रामीण भेगका गर्भवतीलाई लक्षित गरी यस्तो सेवा सुरु गरिएको हो।’

हाल उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर स्वास्थ्य सेवा सुधारको क्षेत्रमा काम गर्दै आएको उपमहानगरको दाबी छ। ग्रामीण क्षेत्रमा आर्थिक रुपमा विपन्न गर्भवती महिलाले समयमा उपचार नपाउँदा ज्यान जाने सक्ने अवस्थालाई ध्यानमा राख्दै निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको उपमहानगरले बताएको छ। 

साथै महानगरपालिकाले नगरभित्रको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर ‘एक वडा एक एम्बुलेन्स’ नीतिलाई कार्यान्वयनमा ल्याउने तयारी समेत सुरु गरेको छ। गत वर्षको नीति तथा कार्यक्रममा समावेश ‘एक वडा एक एम्बुलेन्स’ नीतिलाई यस वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी आवश्यक तयारी अघि बढाइएको छ।
 

कमेन्ट लोड गर्नुस