सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र महेन्द्रनगरमा आधा अर्ब बढीका २ होल्डिङ सेन्टर अलपत्र

२०७९ मंसिर २३, ०३:५५ कमल सावद

धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर ३ र भीमदत्त नगरपालिका वडा नम्बर १८ मा एक÷एक हजार शय्याका होल्डिङ सेन्टर निर्माण भएको महिनौं भयो। होल्डिङ सेन्टरको काम पूरा गर्दै हनुमान निर्माण सेवाले नेपाली सेनालाई हस्तान्तरण गरेको थियो। 

होल्डिङ सेन्टरमा विद्युत र खानेपानीको समेत व्यवस्थापन गरिएको हनुमान कन्स्ट्रक्सनका इन्जिनियर बिक्रम गिरीले बताए। सेनामार्फत निर्माण गरिएको होल्डिङ सेन्टरको काम पूरा भएपछि सेनालाई हस्तान्तरण गरिएको हो। होल्डिङ सेन्टरका भौतिक संरचनाहरु मात्र सेनामार्फत निर्माण गरिएको उनले बताए। 

संक्रामक रोग फैलिएको समयमा भारतबाट फर्किएका नागरिकका लागि होल्डिङ सेन्टरहरु निर्माण गरिएका हुन्। कोरोनाको संक्रमण फैलिएको समयमा नेपाल सरकारले प्रति होल्डिङ सेन्टर निर्माणमा २८ करोड ८१ लाख खर्च गरेको छ। तर होल्डिङ सेन्टरमा अत्यावश्यक उपकरणहरु भने छैनन्।

‘हामीले संरचना बनाएका हौ। आवश्यक उपकरणहरु हाम्रो ठेक्कामा थिएन। घरहरु भने हामीले सेनालाई हस्तान्तरण गरेका छौ,’ गिरीले दिनेशखबरसँग भने। त्रिनगर–गौरीफन्टा सीमा नाका हुँदै स्वदेश फर्किनेहरुका लागि धनगढी उपमहानगर ३ बडहरा र गड्डाचौकी सीमा नाका भएर फर्किने नेपालीका लागि भीमदत्त नगरपालिका–१८ सालघारीमा होल्डिङ सेन्टर निर्माण गरिएको हो। 

होल्डिङ सेन्टरलाई अस्पतालको रुपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको भनिएको थियो। तर, नेपाली सेनाले सञ्चालनको प्रारुपका विषयमा कुनै छलफल नभएको जनाएको छ। कैलाली र कञ्चनपुरमा एक÷एक हजार शय्या क्षमताका होल्डिङ्ग सेन्टरहरु तयार छन्। संघीय सरकारको बजेटमा नेपाली सेनामार्फत होल्डिङ्ग सेन्टर निर्माणको काम सकिएको हो।

होल्डिङ्ग सेन्टर निर्माण गरेर हनुमान कन्स्ट्रक्सनले सेनालाई हस्तान्तरण गरेको छ। तर सञ्चालनको प्रारुप छैन। नेपाल सरकारले सञ्चालनका लागि अनुमति नदिएकाले अन्योल भएको सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले बताए। 

उनले भने, ‘चुनाव अगाडि कुरा भएको थिए। म चुनावमा व्यस्त भए। तर चुनाव पछि केही भएको छैन। हामी छलफल गर्छौ।’ नेपाली सेना मातहतमा होल्डिङ सेन्टर आएको लामो समय भएको छ। तर सञ्चालनको प्रारुप बारे भने टुंगो नै लागेको छैन। तीन तहको सरकारमध्ये कसले होल्डिङ सेन्टर सञ्चालन गर्ने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन्। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस