सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका ९ पालिकाको विपद् पूर्वतयारीका १० बुँदे प्रतिबद्धता    

२०७९ मंसिर २२, १०:४९

कञ्चनपुरः कञ्चनपुरका नौ पालिकाले विपद् पूर्वतयारीका लागि १० बुँदे प्रतिबद्धता गरेका छन्। बुधबार कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित ‘सुरक्षित र दीगो विकासका लागि उत्थानशिल पालिका मञ्च’को दोस्रो कञ्चनपुर सम्मेलनमा यहाँका नौ वटै पालिकाका जनप्रतिनिधिले १० बुँदे प्रतिबद्धता गरेका हुन्।

जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय नीति योजना तथा कार्यक्रमलाई स्थानीयकरण र कार्यान्वयन गर्ने, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सबै पालिकाले विपद् जोखिम वित्त व्यवस्थापन तथा सञ्चालन कार्यविधि तर्जुमा गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ। साथै,  जलवायुजन्य विपद्को जोखिममा रहेका समुदायको विस्तृत अध्ययन गरी जोखिम न्यूनीकरण गर्ने विपद् तथा जलवायु संवेदनशिल भूउपयोग योजना तर्जुमा तथा कार्यान्वयन गरी उत्थानशील र दिगो बसोवासलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाइएको छ। 

 
त्यसैगरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि पूर्वसूचना प्रणाली तथा प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना सञ्चालन र समुदायको पहुँच अभिवृद्धि गर्ने, सामुदायिक विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गरी प्रभावकारी रुपमा परिचालन गर्ने प्रतिबद्धता गरिएको छ। 

त्यसैगरी जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनसम्बन्धी जिल्ला तथा स्थानीयस्तरको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पाठ्यक्रममा उक्त विषय समावेश गर्ने, स्थानीय विकासका योजना निर्माण तथा कार्यान्वयनको क्रममा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिने विपद् जोखिम व्यवस्थापन तथा जलवायु अनुकूलनका लागि प्रकृतिमा आधारित समाधानका उपायलाई प्रवद्र्धन गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ।

कञ्चनपुरका गाउँपालिका तथा नगरपालिकाले यो उत्थानशील कार्यमञ्चमार्फत् पारस्परिक समन्वय र सहकार्य गरी विपद् तथा जलवायु उत्थानशील समाजको निर्माण गर्ने र घोषणाको कार्य प्रगति नियमित अनुगमन तथा समीक्षाका लागि जिल्ला समन्वय समिति र जिल्ला विपद् व्यवस्थापन समितिसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन्।

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले विपद् व्यवस्थापनका लागि स्थानीय सरकार जागरुक हुनुपर्ने बताए। “स्थानीय सरकारलाई आफ्नो क्षेत्र अन्तर्गतका सबै वस्तुस्थितिबारे जानकारी हुन्छ”, उनले भने, “विपद् रोकथामका लागि पालिकास्तरबाटै आवश्यक काम अघि बढाउनुपर्छ।”   

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले विपद् व्यवस्थापनका लागि गाउँपालिकाले सबै प्रयास गर्ने बताए। “विपद्बाट जोगिनका लागि गाउँपालिकाकाले सबैसँग समन्वय गर्छ”, उनले भने, “दीगो विकास र विपद् पूर्वतयारीका लागि १० बुँदे प्रतिबद्धता जनाएका छौ ।” 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सुरक्षित र दीगो विकासका लागि उत्थानशील पालिका मञ्चमा कञ्चनपुरका सबै पालिका सदस्य रहेको बताउँदै विपद् पूर्वतयारीका लागि पालिकाले प्रतिबद्धता जनाएको बताए। “जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समितिसँगको समन्वयमा विपद्मा काम गर्ने प्रतिबद्धता पालिकाले गरेका छन्”, उनले भने, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि सबै पालिका एकमत भएका छन्।” रासस
 

कमेन्ट लोड गर्नुस