सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आधुनिक बसपार्क निर्माण गर्न डिपिआर तयार हुँदै

दक्षिणकाली तरकारी बजारमा सपिङ कम्प्लेक्स बन्ने

२०७९ मंसिर २०, ०७:२० नारायण अवस्थी

धनगढी: धनगढीमा आधुनिक बसपार्क बनाउन डिपिआर तयार हुँदैछ। धनगढी उपमहानगरपालिका वडा नम्बर-३ को चटकपुर, कालिकाटोलमा आधुनिक बसपार्क बनाउन विस्तृत परियोजना अध्ययनको काम थालिएको हो। 
यस्तै, उप-महानगरपालिकाले वडा नम्बर-४ को दक्षिणकाली मार्गमा रहेको तरकारीको होलसेल बजारमा धनगढी प्लाजा बनाउने प्रक्रिया थालेको हो।

उप-महानगरले बसपार्क र सपिङ कम्प्लेक्स बनाउन लगानी सुनिश्चित भएको जनाएको छ। नगर विकास कोषले डिपिआर तयार गर्ने र लगानी पनि गर्ने नगर प्रमुख गोपाल हमालले बताए। 'धनगढी उपमहानगरपालिका र नगर विकास कोषको चार महिना अगाडि सम्झौता भएको थियो। त्यहीँ सम्झौताअनुसार धनगढी प्लाजा र नयाँ बसपार्कको प्रक्रिया अघि बढेको हो,' उनले भने, 'नगर विकास कोषले नै डिपिआर पनि बनाउने भनेर उहाँहरू फिल्डमा सर्वे गर्ने भनेर आउनु भएको छ।'

धनगढी उप-महनगरले वडा नम्बर-३ चटकपुर, कालिकानगरको सरकारी पर्ति जग्गामा आधुनिक बसपार्क बनाउने काम अगाडि बढाएको हो। वडा नम्बर-३ को कित्ता नम्बर १ को सरकारी जग्गाको स्वामित्व संघीय सरकारबाट प्राप्त गर्ने र आधुनिक बसपार्क बनाउने योजना उपमहानगरको छ। अहिले धनगढी बजार क्षेत्रमा रहेको बसपार्क एक बिघा जग्गामा मात्रै छ।

यो बसपार्क सानो हुँदा उपमहानगरले विकल्पमा ठुलो क्षेत्रमा सुविधायुक्त बसपार्क बनाउने योजना अगाडि बढाएको हो। नगर विकास कोषको सहयोगमा बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न मंगलबार नगर विकास कोष र उपमहानगरपालिकाको टोलीले सर्वेको काम थालेको छ। वडा नम्बर-४ को तरकारीको होलसेल बजारमा सपिङ कम्प्लेक्स र बसपार्क बनाउने काम सँगसँगै अगाडि बढ्ने नगर प्रमुख हमालको भनाइ छ।

'वडा नम्बर-४ को तरकारीको होलसेल बजार भएको ठाउँमा धनगढी प्लाजा भनेर सपिङ कम्प्लेक्स बन्ने छ,' उनले भने, 'पुस मसान्तभित्र डिपिआर बनेपछि लगानीबारे सबै कुरा थाहा हुने छ।' धनगढी प्लाजा र बसपार्कको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना अध्ययन नगर विकास कोषले पुस मसान्त भित्र गरि सक्ने छ। त्यसपछि उप-महानगरलाई जग्गा भोगाधिकार प्राप्त गर्ने बाटो खुल्ने छ।

उपमहानगरले वडा नम्बर-३ मा आधुनिक बसपार्क र वडा नम्बर-४ मा सपिङ कम्प्लेक्स निर्माण गर्न लगानी सुनिश्चित भएको जनाएको छ। नगर विकास कोष र पूर्वाधार विकास बैंकले लगानी गर्ने तय भएको नगर प्रमुख हमालले दिनेशखबरलाई बताए।

'लगानी प्राप्त गर्ने कुरा सुनिश्चित भएको छ। प्राविधिक र सरकारी निकाय र विभागमा कुरा मिल्न बाँकी छ। सबै कुरा मिलाएर चाँडै निर्माणको काम सुरू हुनेछ।' बसपार्क निर्माण गर्न जग्गा प्राप्तिका लागि डिपिआर तयार भए सहज हुने उपमहानगरले बताएको छ।

आधुनिक बसपार्क र  आफ्नै स्वामित्वको सपिङ कम्प्लेक्स निर्माण गरेर उपमहानगरको आय बढाउने योजना बनाएको छ। नयाँ बसपार्क र सपिङ कम्प्लेक्स निर्माण भएर सञ्चालनमा आए नागरिकले सुविधा पाउने विश्वास गरिएको छ। 

 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस