सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको सीमा क्षेत्रमा जहिल्यै भारतको बलमिच्याइँ, अप्रिय घटनाको खतरा

२०७९ मंसिर १९, ०७:०७ नारायण अवस्थी

धनगढीः दार्चुला सदरमुकाम खलङ्गा बजार बगाउने गरी भारतीय पक्षले महाकाली नदीको धार नेपालतिर फर्काउँदैछ। जिल्ला सदरमुकाम खलङ्गा डुबान र कटान हुने गरी भारतीय पक्षले महाकालीको धार नेपालतर्फ फर्काउन निरन्तर काम गरिरहेको हो। 

सीमा क्षेत्रमा नेपालीमाथि थिचोमिचो गर्दै आएको भारतीय पक्षले आइतबार धार्चुलाबाट नेपाली भूमि दार्चुलातर्फ ढुङ्गामुढा बर्साएको छ। भारतीय पक्षले यो महिनामात्रै दार्चुलाको सीमा क्षेत्रमा चारपटक विवाद झिँकेको छ। सीमा क्षेत्रमा तीनपटक ढुङ्गा हानाहान भएको छ।

आइतबार भारतीयको ढुङ्गा प्रहारबाट चार बालक घाइते भएका छन्। सीमा क्षेत्रमा भारतीय पक्षको निरन्तरको दादागिरी रोकिनुपर्ने र दुबै देशको सहमतिमा महाकालीमा तटबन्धको काम हुनुपर्ने दार्चुलावासीले माग गर्दै आएका छन्।भारतले अनधिकृत निर्माण गरेको तटबन्धका कारण दार्चुला जिल्लामा जुनुकै बेला अप्रिय घटना हुने खतरा रहेको भन्दै स्थानीय चिन्तित छन्। भारतीय पक्षको ज्यादती हट्नुको सट्टा बढेको स्थानीयले बताएका छन्। 

धार्चुलाबाट नेपालको दार्चुला सदरमुकाम खलङ्गातर्फ आइतबार ढुङ्गामुढा भयो। दार्चुला खलङ्गास्थित महाकाली नदीको बहाव साँघुरो पार्दै नदीका चार भङ्गालोलाई भारतले एकत्रित पारेको छ। भारतीय पक्षले बलपूर्वक नेपालतर्फ नदीको धार सोझ्याएको भन्दै खलङ्गावासीले विरोध गर्दै आएका छन्। भारतीय पक्ष र नेपालीबिच मंसिरमा मात्रै तटबन्ध र नदीको धार परिवर्तन गरेको भन्दै चार/चार पटक विवाद भइसकेको छ। तीन पटक ढुङ्गा हानाहान भएको छ। 

आइतबार भारतीय पक्षले प्रहार गरेको ढुङ्गा लागेर चार बालक घाइते भएका छन्। नदीमा भारतले अन्तर्राष्ट्रिय कानुनको बेवास्ता गर्दै नेपालसँग सल्लाह नै नगरी महाकाली बगरमा तटबन्ध निर्माण गरेर मैदान बनाउन लागेको छ। विगतदेखि नै एकतर्फी तटबन्ध गर्न नहुने भन्दै नेपाली पक्षबाट विरोध हुँदै आएको भए पनि भारतीय पक्षले बेवास्ता गर्दै आएको छ। भारतीय पक्षले सीमा सुरक्षा बल (एसएसबी) को आडमा महाकालीमा जबरजस्ती काम गर्दै आएको छ। भारतले नेपालतर्फ डुबान र कटान हुने गरि तटबन्ध निर्माण गर्दै आएकोले आइतबार नेपाली पक्षले विरोध गरेको स्थानीयको भनाइ छ।

आइतबार पनि भारतीय पक्षले नदीमा तटबन्ध लगाउने काम सुरु गर्दा नेपाली पक्षले वारिबाट विरोध गरेका थिए। नेपालीले विरोध गर्दा भारतीय पक्षले पहिले ढुङ्गा बर्साउँदा नेपालबाट सर्वसाधारणले प्रतिकार गरेका थिए। खलङ्गा क्षेत्रको बाङ्गाबगर क्षेत्रमा भारतीय पक्षले महाकालीको धार नेपालतर्फ सोझ्याएको छ। जसले गर्दा बाङ्गाबगरको कैलाशपति आधारभूत विद्यालय कटानको चपेटामा परेको छ।

सिङ्गो दार्चुला सदरमुकाम पनि भारतीय पक्षले धौलीगङ्गाको बाध खोले जुनसुकै समय कटान र डुबानमा पर्ने भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन्। गत बर्सातमा महाकालीमा बाढी आउँदा बाङ्गाबगर क्षेत्रमा निर्माण गरेको तटबन्ध डुबाएकाले भारतीय पक्षले निर्माण गर्ने तटबन्धका कारण दार्चुला खलङ्गा फेरि तहसनहस हुने देखिएको भन्दै खलङ्गाका स्थानीय महावीर ठगुन्नाले चिन्ता व्यक्त गरेका छन्।

‘भारतीय पक्षसँग तटबन्धका विषयमा पटकपटक हाम्रो विवाद हुने गरेको छ। यो कुरा प्रशासनलाई पनि राम्रोसँग थाहा छ,’ उनले भने, ‘उनीहरूले काम नगर्ने सहमति गर्छन फेरि काम गर्न थालि हाल्छन्। दार्चुला खलङ्गामा घर र पसल हुनेले अहिले नै बच्ने उपाय खोज्नुपर्ने अवस्था आएको छ।’

महाकालीको बहाउ नेपालतर्फ सोझ्याएर भारतले अनधिकृत पक्की तटबन्ध बनाइरहँदा नेपाल सरकार भने मौन छ। सीमा क्षेत्रमा भारतीय ज्यादतीका कारण नेपालीको ज्यानसमेत जाने घटना भइरहँदा पनि वार्ताबाट समस्याको समाधान निकाल्न नेपाल सरकारले कूटनीतिक पहल गर्न सकेको छैन। २०७० असार २ गते महाकालीमा आएको बाढीले दार्चुला सदरमुकाममा ठुलो क्षति गरेको थियो। बाढीका कारण महाकालीले नेपालतर्फ कटान गरि धार परिवर्तन गर्दा नेपाली भूमि नदी पारि पुगेको थियो। अहिले भारतीय पक्षले त्यहीँ नेपाली भूमि भारतमा पर्ने गरि तटबन्ध गर्न लागेको हो।

तर, दार्चुला जिल्ला प्रशासन भने भारतीय पक्षसँग मौखिक सहमति गरेर एकतर्फी निर्माण गर्ने कार्य हिजोबाटै रोकिएको दाबी गरेको छ। दुबै पक्षको सल्लाहमा सीमा क्षेत्रमा काम हुने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। ‘हिजो नै हामीसँग मौखिक सहमति भएको छ। सहमतिमा नै काम गर्ने सल्लाह भएको छ,’ उनले भने, ‘विवादित ठाउँमा काम गर्दा आपसी सल्लाह र समझदारीमा काम गर्ने सहमति भएको छ।’

पहिले २०७८ साउन १५ मा भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा फुकाल्दा व्यास गाउँपालिका वडा नम्बर २, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए। यस्तै गत कात्तिक ११ मा भारतले सडक निर्माण गर्न गरेको विष्फोटका कारण व्यास २ दुम्लिङका ९ वर्षीय बालक पवन महरको ज्यान गएको थियो।

दार्चुलामा कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेको भारतले सीमावर्ती क्षेत्रमा पटकपटक ज्यादती गरिरहेको देखिन्छ। जसले गर्दा सीमा क्षेत्रमा नेपाली भूमि र जीवन भारतीय पक्षको अनधिकृत गतिविधिका कारण जोखिममा परेको अनुभव गरिएको छ। 

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस