सुदूर नेपाललाई विश्वसँग जोड्दै

रविलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाटै निकाल्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ मंसिर १९, ०२:५५ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पार्टीबाटै निकाल्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। वैध नेपाली नागरिकता नभएका व्यक्तिले राजनैतिक दल खोल्न, सो दलको साधारण सदस्य हुन् र अध्यक्ष वा सभापति हुन नमिल्ने दाबी सहित सोमबार युवराज पौडेलले निर्वाचन आयोगमा उजुरी दिएका हुन्।

उजुरीमा  वैध नागरिकता नै नभएका लामिछानेको सभापतित्वमा दल दर्ता गरेर निर्वाचन आयोगले त्रुटि गरेको दाबी गर्दै लामिछानेलाई सभापतिसँगै दलको साधारण सदस्यता समेत खारेज गर्न माग गरिएको छ।

‘नेपाली नागरिकता नै नभएका लामिछानेलाई उक्त दलको सभापतिको मान्यता दिन एवं सो दलको साधारण सदस्यता समेतको मान्यता दिन नमिल्ने भएको हुँदा निजको सभापतित्व र साधारण सदस्यता निर्वाचन आयोगले खारेज गर्न वा सो गर्न गराउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्देशन दिन' निवेदनमा माग गरिएको छ।

निवेदनमा गरिएको दाबी अनुसार लामिछानेसँग वैध नागरिकता नभए उनी पार्टीको साधारण सदस्य समेत रहन सक्दैनन्। उनले अमेरिकी नागरिकता लिँदा निष्क्रिय भएको नेपाली नागरिकता सक्रिय बनाउन कानुनी प्रक्रियामै नगएको स्विकारिसकेका छन्।

पौडेलले यस अगाडि गृह मन्त्रालयमा दिएको नागरिकता सम्बन्धी उजुरीमा आधारमा जिल्ला प्रहरी परिसरले छानबिन गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस