अछामका किसानको बारीमा लटरम्म फल्यो किवी, बजार पाएन
धनगढी: अछामको रामारोशन गाउँपालिका वडा नम्बर १ मलासीकोटका नविन साउँदले दस रोपनी जग्गामा किवी खेती गर्न थालेको पाँच वर्ष पूरा भयो। एक सय बोटबाट सुरु भएको उनको किवी खेती अहिले दस रोपनीमा ३ सय बोटमा पुगेको छ। रामारोशनमा किवी खेती गर्ने नविनले मात्रै एक्लो किसान हुनुपर्ने अवस्थाको अन्त्य भएको छ।
अहिले व्यवसायिक रुपमा किवी खेती गर्ने किसानको संख्या बढ्दै गएको छ। दस रोपनीमा तीन सय विरुवा किवी रोप्दा पाँच लाख लगानी भएको र गत वर्षबाट किवी विक्री गरेर आम्दानी हुन थालेको किसान साउँदले बताए। 'मैलै दस रोपनी जग्गामा किवी खेती गरेको छु,' उनले भने, 'गत वर्षबाट किवी विक्री गर्न थालेको छु। तर चिस्यान केन्द्र नहुँदा र बजारको अभावमा उत्पादित किवी विक्री नहुने पो हो कि भन्ने चिन्ता हुन थालेको छ। सरकारले प्याकेजिङ, भण्डार र बजार विस्तारमा सहयोग गरे अछामका किसानलाई ठुलो सहयोग पुग्ने थियो।'
अछामको रामारोशन र मेल्लेख गाउँपालिका तथा कमल बजार र मंगसेन नगरपालिकामा किसानहरू व्यवसायिक किवी खेतीमा संलग्न हुन थालेका छन्। जिल्लामा किसानको संख्या र किवी खेतीको क्षेत्रफल मात्रै होइन हरेक वर्ष उत्पादनमा पनि वृद्धि भइरहेको छ। तर किवी तयार भएर विक्री गर्ने समयमा बजार नपाउने समस्याले भने अछामका किसान चिन्तित हुन थालेका छन्।
बजार तथा चिस्यान केन्द्र नहुँदा सस्तोमा किवी विक्री गर्नु परेको किसानले गुनासो गरेका छन्। धनगढी र नेपालगञ्जमा भारतीय व्यावारीले फलफूल तथा तरकारीको थोक कारोवार गर्ने हुँदा पहाडी जिल्लाको उत्पादनले बजार पाउन समस्या भएको अछामका किसान साउँदको भनाइ छ।
'धनगढी र नेपालगञ्जमा थोक व्यापारी भारतीय छन्। तिनले भारतबाट आउने फलफूल तथा तरकारीलाई नै प्राथमिकता दिने गर्छन्। हाम्रो उत्पादन खरिद गर्न बारीमा कोही आउँदैनन्। अफ सिजनमा विक्री गर्न चिस्यान केन्द्र सञ्चालनमा नल्याउँदा समस्या भएको छ। सरकारले भण्डारणमा र बजारीकरणमा सहयोग गरोस् भन्ने हामी किसानको माग हो,' किसान साउँदले दिनेशखबरसँग भने।
किवी खेतीमा किसानहरूको आकर्षण मात्रै बढेको छैन हरेक वर्ष उत्पादन पनि दोब्बर र तेब्बर मात्राले बढ्ने कृषि अधिकारीले बताएका छन्। कृषि ज्ञान केन्द्रले अनुदान दिएर खेती विस्तारमा सहयोग गरिरहेको भए पनि जिल्लामा चिस्यान केन्द्र सञ्चालनमा नआउँदा भण्डारण गरेर राख्न नसकिएको जनाएको छ।
संघीय सरकारको नयाँ सहर विकास आयोजना अन्तर्गत निर्माण सम्पन्न भएको चिस्यान केन्द्र सञ्चालनमा आए अछाम र बाजुराका किसानले उत्पादन गरेको कृषि उपज भण्डारण गरेर फाइदा लिन सक्ने भएकाले सम्बन्ध पक्षलाई चिस्यान केन्द्र सञ्चालनमा ल्याउन आग्रह गर्ने कृषि ज्ञान केन्द्र अछामका प्रमुख छपेन्द्रप्रसाद शर्माले बताए।
'अछाम जिल्लामा किवी खेती राम्रो उत्पादन भइरहेको छ। यहाँको किवी रसिलो र स्वादिलो छ,' उनले भने, 'यहाँका किसानलाई बजारीकरणमा हामीले पनि सहयोग गरिरहेका छौँ भने साँफेबगरमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालनमा ल्याउन सके अछाम र बाजुराका किसानको कृषि उपज भण्डारण गर्न कुनै समस्या हुन्न।'
सुदूरपश्चिम प्रदेशमा केही वर्षदेखि किसानहरू व्यवसायिक फलफूल तथा तरकारी खेतीमा संलग्न हुन थालेका हुन्। प्रदेशमा फलफूलतर्फ किवी, ड्रयागन फ्रुट, एभोकाडा, सुन्तलाको उत्पादन ह्पात्तै बढेको छ भने तरकारी खेतीमा पनि ठुलो संख्यामा किसान संलग्न छन्। तर उत्पादित कृषि उपजले बजार नपाउँदा किसानले सोचेजस्तो फाइदा लिन सकेका छैनन्। अछामको रामारोशनका किसानको बारीमा किवी लटरम्म फलेको छ। स्थानीय अर्गानिक उत्पादनले बजार नपाउँदा किसान भने चिन्तित भएका छन्।