सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको पूँजीगत खर्च ४ दशमलव ४३ प्रतिशत मात्र

२०७९ मंसिर १७, ०४:२८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट १८ अर्ब २६ करोड ६३ लाख छ। मन्त्रालयको ठूलो हिस्सा पूँजीगत अर्थात् विकास बजेट हुन्छ। तर उक्त बजेटको ९५ करोड १६ लाख अर्थात चार दशमलव ६५ प्रतिशत मात्र खर्च भएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका पाँच महिनामा पनि न्यून बजेट मात्र खर्च गरेको हो। 

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयसँग ६ अर्ब ८७ करोड ४२ लाख बजेट छ। उक्त बजेटमा ८२ करोड ५८ लाख मात्र खर्च भएको छ। सामाजिक विकास मन्त्रालयको पूरा बजेटको चार दशमलव ३८ प्रतिशत मात्र खर्च भएको हो। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तीन अर्ब १० करोड ३९ लाखमा २४ करोड ९ लाख अर्थात पाँच दशमलव १६ प्रतिशत, उद्योग पर्यटन वन तथा वातवरण मन्त्रालयको २ अर्ब ६१ करोड ८६ लाखमा १९ करोड ४९ लाख अर्थात १६ दशमलव ५८ प्रतिशत खर्च भएको छ।

प्रदेश लोकसेवा आयोगको ९ करोड ८२ लाखमा एक करोड  ६५ लाख, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको ५० करोड ४८ लाखमा ६ करोड ८९ लाख, आर्थिक मामिला मन्त्रालयको २६ करोड ५० लाखमा ३ करोड १२ लाख, आन्तरिक मामिला मन्त्रालयको ५२ करोड २२ लाखमा ८ करोड ८७ लाख खर्च भएको प्रदेश लेखा नियन्त्रणको कार्यालयले जनाएको छ।  

सुदूरपश्चिम प्रदेश सरकारको २४ अर्ब १४ करोड ४७ लाखमा पूँजीगत बजेट छ। उक्त बजेटमा एक अर्ब ७ करोड एक लाख अर्थात चार दशमलव ४३ प्रतिशत मात्र खर्च भएको छ। चालुतर्फ १२ अर्ब ३० करोड १७ लाख बजेट रहेकोमा एक अर्ब ६५ करोड ९२ लाख अर्थात १३ प्रतिशत खर्च भएको छ।
 

कमेन्ट लोड गर्नुस