सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेमा तीन करोडका सुन्तला उत्पादन, बारीमै मूल्य प्रतिकिलो ८२ रुपैयाँ

२०७९ मंसिर १७, १०:०० कमल सावद

धनगढीः कैलालीको चुरे क्षेत्रका पालणी, घरखेडा, निगाली, अलाड, पखिरलगायतका क्षेत्रमा सुन्तलाको राम्रो उत्पादन हुन्छ। सो क्षेत्रका सुन्तला स्वादिलो र रसिला हुन्छन। गत वर्ष असिना–पानीका कारण सुन्तलामा क्षति भएकाले कम उत्पादन भए पनि यो वर्ष सुन्तलाको उत्पादन बढेको छ।

जिल्लाको चुरे क्षेत्रका सुन्तलाहरु व्यापारीले बारीबाट नै खरिद गर्दै आएका छन्। व्यापारीले किसानलाई बारीमा सुन्तलाको प्रतिकिलो ७० देखि ८२ रुपैयाँसम्म मूल्य दिने गरेका छन्। निगालीका किसान टेकबहादुर बमले सुन्तलाको उत्पादन यो वर्ष राम्रो भएको बताए। उनले भने, ‘यो पटक असिना आएन, त्यसैले उत्पादन राम्रो छ। हामीले विक्री गर्दैछौ। ठेकेदारहरु बारीमै आउँछन्। किसानहरुले मूल्य निर्धारण गर्छन्। ग्रेडिङ् गरेर व्यापारी ल्याउँछन्। ७०,७६, ८०, ८२ रुपैयाँसम्म सुन्तलाकी मूल्य किसानले बारीमा नै पाउने गरेका छन्।’

कैलालीको चुरे क्षेत्रमा मात्र एक वर्षमा झण्डै तीन करोड मूल्यका सुन्तला उत्पादन हुँदै आएको छ। चुरे क्षेत्रको २ सय ५० हेक्टर क्षेत्रमा सुन्तलाको खेती हुँदै आएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए। उनले कैलालीको चुरे क्षेत्रको सुन्तलाको स्वाद पनि मिठो हुने बताएका छन्। सो क्षेत्रमा झण्डैमा दुई हजार टन सुन्तला उत्पादन हुँदै आएको उनले भने। उनले भने, ‘६० प्रतिशत विक्री भएको होला। पुस महिनासम्ममा सबै किसानले सुन्तला विक्री गरेर सक्छन्। यो वर्ष सुन्तला राम्रो फलेको छ। म २ पटक पुगि सके।’

समुन्द्र सतहदेखि एक हजार मिटर उचाइका सुन्तलाको उत्पादन हुन्छ। कैलालीको चुरे क्षेत्रमा उत्पादन हुँदै आएको सुन्तलाको ग्रेडिङ गरेर बजारमा विक्री गर्ने गरिएको छ। व्यापारीहरुले बारीमा नै ग्रेडिङ गर्दै ७० देखि ८२ रुपैयाँ प्रतिकिलोग्रामको मूल्य दिने गरेका छन्। चुरेका किसानका बारीका आधा सुन्तला विक्री भइसकेको किसानले बताएका छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस