सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रहरीको बल प्रयोगः बाल मस्तिष्कमा कस्तो प्रभाव पर्छ ? 

२०७९ मंसिर १६, ०५:३९ खबर संवाददाता

धनगढीः धनगढीमा विद्यार्थीको आन्दोलनमा जिल्ला प्रहरी कार्यालय कैलालीले बल प्रयोग गरेको स्वीकार गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीमाथि बल प्रयोग गरेको स्वीकार गरेका छन्।

उनले विज्ञप्तिमा निषेधाज्ञा तोडेर विद्यार्थीले आन्दोलन गर्न खोजेपछि बल प्रयोग गरिएको जनाएका छन्। हिजो बिहान सडक कालोपत्रे गरिरहेको बेला ग्रेडरले ठक्कर दिएर १५ वर्षीया चेतना साउँदको मृत्यु भएको थियो। धनगढीकै पञ्चोदय कक्षा ८ मा अध्ययनरत साउदको मृत्यु पछि विद्यार्थीले चालकलाई कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका थिए।

यसैबीच आज प्रहरीले २३ जनालाई पक्राउ गर्नुको साथै ३७ राउन्ड अश्रुयास्य प्रहार गरेको थियो। विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लागेपछि त्यसको बचाउन गर्दै उच्छृंखल गतिविधि रोक्न सामान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ।

बाल मस्तिष्कमा पर्ने प्रभाव
यस्ता घटनामा प्रहरीको बल प्रयोगले बाल मस्तिष्कमा गम्भीर असर पर्ने चिकित्सकहरु बताउँछन्। धनगढीको निसर्ग हस्पिटलमा कार्यकरत मनोचिकित्सक डाक्टर प्रभात सापकोटाका अनुसार स्कुले बालबालिकालाई नियन्त्रणमा लिँदा या यातना दिँदा उनीहरुमा एकोहोरोपन आउने, खाना नरुच्ने, सुत्न नमान्ने, निद्रामा झस्कने समस्या आउनसक्छ। 

उनी भन्छन्, ‘उनीहरुमा भवितव्य घटनाहरु एक्कासी सुन्दा वा देख्दा सम्हाल्न गाह्रो हुने समस्या आउन सक्छ। त्यसमाथि आफ्नो नजिकको साथी मुर्छा पर्नेसम्मको अवस्था आउन सक्छ। उनीहरुमा भीडडदेखि डराउने, एन्जाइटिक डिसअर्डरसमेत देखिने हुनसक्छ।’ यस्ता घटनाले बाल मनोविज्ञानमा गम्भीर असर समेत पर्न सक्ने उनको भनाइ छ। 

कमेन्ट लोड गर्नुस