सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी घटनाः मायाको मोबाइल भेटियो 

२०७९ मंसिर १६, १२:४० खबर संवाददाता

धनगढीः घाँटी रेटी हत्या गरिएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको मोबाइल भेटिएको छ। घटना भएकै दिनदेखि अनुसन्धान जुटेको प्रहरीले मृतक मायाको मोबाइल फेला पारेको जनाएको हो।

घटना भएको ठाउँभन्दा एक घण्टाको पैदल दुरी पञ्चेश्वर-४ मा मृतकको मोबाइल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। मोबाइलबाट पनि अनुसन्धानमा सहज हुने र प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा मोबाइलमा भएका कुराको अनुसन्धान गरिने उनले बताए।

त्यस्तै, मृतकका आफन्तले शिवनाथ गाउँपालिका–४ सोलपला घर भएका सशस्त्र प्रहरी जवान भरतराम कोलीको नाममा किटानी जाहेरी दिएकोमा उनी भने अझै समातिएका छैनन्। आरोपित फरार रहेका र उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

मायासँग पहिलेदेखि नै फोनमा कुराकानी गर्ने गरेका कोलीले नै मायाको हत्या गरेको पारिवारजनले दाबी गरेका छन्। केही दिन पहिला कोलीले मायाको फोन खोसेको र त्यसपछि बोलाएर हत्या गरेको आरोप मृतकको परिवारको छ।

मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी माया बुधबार शिवनाथ–६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन्। उनको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाएको प्रहरीले बताएको छ। उनीसँगै गएकी नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते अवस्थामा फेला परेकी थिइन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।


 

कमेन्ट लोड गर्नुस