सुदूरपश्चिम प्रदेशसभाको भवन भत्काउन सुरु, दलको कार्यालयका लागि स्थान अभाव
धनगढीः सुदूरपश्चिम प्रदेश सभा जिल्ला सम्वनय समिति कैलालीको भवनमा छ। धनगढीमा भौतिक संरचना अभाव रहेको भन्दै साँघुरो ठाउँमा प्रदेश सभा, प्रदेश सभाको सचिवालय, सभामुख तथा उपसभामुखको कार्यालय, दलका कार्यालयहरु र विषयगत समितिका सभापतिका लागि कार्यालयको व्यवस्थापन गरिएको थियो।
तर, धनगढीको मुख्य सडक विस्तारका क्रममा सडक क्षेत्राधिकारभित्र पर्ने प्रदेश सभाका भवनहरु पनि आधा भत्काउनुपर्ने देखिएको हो। दलका कार्यालयहरु रहेको भवन सडकको क्षेत्राधिकारमा परेको हो। जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी बिमल जोशीले सडक क्षेत्रमा रहेको भवन आधा भत्काउनुपर्ने बताए। उनले भने, ‘प्रदेशले बनाएको प्रि–फ्याव भवन भत्काउदैछन्। सटरहरु पनि भत्किने भए।’
प्रदेश सभा सचिवालयले निर्माण गरेको प्रि–फ्याव भत्काउन थालिएको छ। दक्षिण तीरको भवनको माथि प्रदेश सभा सचिवालयले दलको कार्यालयका लागि प्रि–फ्याव भवन बनाएको हो। प्रदेश सभाको पश्चिम तिर निर्माण गरिएको नयाँ भवनमा ठुला दलको कार्यालय र बाँकी साना दलका लागि सडक तिरको भवनमा कार्यालय व्यवस्थापनको काम हुँदैछ। तर प्रदेश सभा सचिवालयसँग बजेटको अभाव छ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले सडक क्षेत्रमा संरचना हटाउन थालिएको बताए। उनले भने, ‘सडक क्षेत्रमा रहेका संरचना हटाउदैछ। दलको कार्यालय रहेको ठाउँ सानो हुने भएको छ। समितिका लागि दिइएका कोठाहरु भने रहनेछन्।’
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकिकृत समाजवादी तथा एक जना स्वतन्त्रको सहभागिता रहनेछ। ठुला दलका लागि प्रदेश सभाले निर्माण गरेको भवनमा दलको कार्यालयका लागि दिने तयारी गरिएको छ। साना दल तथा विषयगत समितिहरुका लागि भवन व्यवस्थापनको काम जारी छ। बोगटीले भने, ‘मुख्यमन्त्री, अर्थमन्त्रालय, कानून मन्त्रालयसँग बजेटका लागि भनेका छौ। उधारोमा काम गर्दैछ। जिल्ला सम्वनय समितिसँगको सहकार्यमा काम थालेका हौ।’
सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्यहरु हुने व्यवस्था छ। प्रत्यक्षतर्फ ३२ र सामानुपातिकतर्फ २१ प्रदेश सभा सदस्य हुनेछन्। उनीहरुमध्येबाटै सभामुख, उप–सभामुख, मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, विषयगत समितिका सभापतिहरु चयन हुनेछन्।
सुदूरपश्चिम प्रदेश सभामा दलका कार्यालय राख्न स्थान अभाव देखिएको छ। जिल्ला समन्वय समितिले प्रदेश सभालाई दिएको भवन सडक क्षेत्रमा परेपछि भत्काउन थालिएको छ। सडक क्षेत्रमा पर्ने जिल्ला समन्वय समितिको भवनमा दलका कार्यालयहरु सञ्चालन हुँदै हुँदै आएको थियो।