सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसो बढेसँगै बेँसी सार्न थालियो चौरी र भेडीगोठ

२०७९ मंसिर १५, ०१:१०

म्याग्दी: जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडीगोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ।

म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँसीमा चहलपहल बढेको छ। मुस्ताङको थासाङ, निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मूलिखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा/खयर तथा बयली लेकका चौरी, रघुगङ्गा र धवलागिरि गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा चरनका लागि लगिएका भेडालाई बस्ती नजिकैका न्यानो क्षेत्रमा झारिएको हो। 

मुस्ताङ र म्याग्दीको उच्च लेकाली क्षेत्रमा पालिएका चौँरी र भेडा गर्मीमा लेक तथा जाडोमा बेसी झार्ने गरिन्छ। घुम्ती गोठ बनाएर चौरी र भेडापालन गर्दै आएका मुस्ताङको मूली, बतासे क्षेत्रका चौँरी नाउरीकोट, बोक्सीखोलाका चौरी पालक किसानले चरनका लागि चौँरीलाई गर्मी महिनामा धौलागिरि, निलगिरि र टुकुचे हिमालको फेदमा रहेका खर्कमा लैजाने गर्छन् भने जाडो सुरु भएपछि बेँसी झार्ने गर्दछन्। मुस्ताङका चौरी पालक किसान सहेन्द्र शेरचनले लेकाली क्षेत्रमा अत्यधिक चिसो बढ्नुका साथै हिमपात हुन सुरु भएपछि चौँरीलाई नीलगिरि फेदीका चौँरी चोखोपानी, सौरु, टिटी क्षेत्रमा सारिएको जानकारी  दिए।

म्याग्दीको अन्नपूर्ण क्षेत्रका चौँरीलाई लरेनी क्षेत्रमा ओरालिएको चौरीपालक सोभित खोरजाले बताए।अहिले बेसी झारिएका चौँरीलाई वैशाख लागेपछि मात्रै पुनः बुकी लेक फर्काइने उनको भनाइ छ। चिसो छल्न बेँसी झरे पनि चौँरीलाई चरनको समस्या रहेको किसानले गुनासो गरेका छन्।

“सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा चरिचरनलाई रोक लगाएपछि समस्या उत्पन्न भएको छ”, उनले भने, “लेकाली क्षेत्रमा चरनको समस्या छैन, तर बेँसीका चरन क्षेत्रमा चरनको अभाव हुने भएकाले चौँरी पाल्ने किसानको सङ्ख्या कम हुँदै गएको छ।”

त्यसैगरी मुस्ताङको मूली लेकका चौँरीपालक किसान सकेन्द्र गौचनले माथि चिसो बढ्न थालेपछि न्यानो बासको खोजीका उँधोतर्फ झर्ने गरेको बताए। उनले भने, “जाडो बढ्न थालेपछि हामी चौँरीगोठ बेँसीतिर झार्छाै गर्मी सुरु भएपछि फेरि लेकतिर ल्याउने गर्छौँ, जाडोले पशुचौपाया मात्र नभइ मानिसलाई समेत समस्या हुने भएकाल बेँसी झर्नु बाध्यता हो।” तेन्जिङ जस्तै यहाँका सबै चौरी किसान बेँसी झर्न थालेका छन्। यहाँका किसान छ महिना लेकतिर र छ महिना बेँसीतिरको खर्कमा चौँरी तथा गाईभैँसी पाल्दै आएका छन्। 

कमेन्ट लोड गर्नुस