सुदूर नेपाललाई विश्वसँग जोड्दै

सम्झौताको ६ महिनासम्म पनि सुरु भएन धनगढी विमानस्थल पहुँचमार्गको काम

२०७९ मंसिर १५, १२:५० कमल सावद

धनगढीः धनगढी विमानस्थलमा कार पार्किङ्ग र पहुँच मार्ग निर्माणका लागि २०७९ जेठ ४ गते नेपाल नागरिक उड्यन प्राधिकरण र जे एण्ड जी निर्माण सेवा, धनगढीबीच सम्झौता भएको थियो। एक करोड १८ लाख ८९ हजार नौ सय ४७ रुपैयाँमा सम्झौता भएको उक्त योजनाको समय अवधि एक वर्षको छ। सम्झौताको ६ महिना हुँदै छ। काम सुरु भएको छैन।

धनगढी विमानस्थलमा प्रतिकूल मौसममा जहाज अवतरणका लागि आवश्यक उपकरणको भने सफल परिक्षण भएको छ। तर पहुँचमार्ग निर्माणको काम भने सुरु नभएको आयोजना प्रमुख रन्तबहादुर श्रेष्ठले बताए। उनका अनुसार निर्माण कम्पनी पहुँतमार्ग निर्माणको तयारीमा रहेको छ। ‘शनिबारदेखि काम सुरु हुन्छ होला,’ उनले भने। 

नेपाल नागरिक उड्यन प्राधिकरण र इन्द्र–धनु अछाम निर्माण सेवा टीकापुर, कैलालीबीच २०७९ जेठ १६ गते सम्झौता भएको चमेनागृह, वाटर फाउन्टेन, ट्रमिनल भवन सुधार र प्रवेशद्धवार निर्माणको सम्झौता भएको थियो एक करोड ९५ लाख ७८ हजार तीन सय ६७ रुपैयाँको उक्त योजनाको काम निर्माण कम्पनीले गर्दैछ।

वाटर फाउन्टेनको काम भने सुरु भएको छैन। एक वर्षमा निर्माण कम्पनीले भौतिक संरचना निर्माणको काम पूरा गर्ने लक्ष्य लिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले बताए। पहुँचमार्ग र वाटर फाउन्टेन बाहेक अन्य काम सुरु भएको उनले जानकारी दिए। बाँकी काम पनि केही दिनमा सुरु हुने उनले बताएका छन्। 

धनगढी विमानस्थलको स्तरोन्नति अन्तर्गत टर्मिनल भवन सुधार, ब्यागेज हेन्डलिङ्ग सिस्टम, वाटर फाउन्टेन, क्यानटिन, गेट निर्माण तथा कार पार्किङ स्थल र पहुँचमार्ग निर्माण हुनेछ। संरचना निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक स्रोतबाट रकम विनियोजन गरेको हो।

धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्नुपर्ने माग उठे पनि जग्गा अधिग्रहणको काम भने अगाडि बढेको छैन। विमानस्थल विस्तारका लागि थप २ सय ५८ विघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस