सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका विद्यार्थीले अझै पाएनन् किताब

२०७९ मंसिर १४, १२:२४ कमल सावद

धनगढीः शैक्षिक सत्र सुरु भएको ८ महिना हुँदैछ। पहिलो त्रैमासिक परीक्षा सकिएको छ। तर, सुदूरपश्चिममा पाठ्यपुस्तकको अझै अभाव छ। शैक्षिक सत्र सकिनै लाग्दा पनि प्रदेशको अस्थायी मुकाम धनगढीसहित प्रदेशमा पाठ्यपुस्तकको अभाव रहेको हो।

कैलालीको कैलारी गाउँपालिकाको जनता माविका शिक्षक डिल्ली मिश्रले विद्यालयका विद्यार्थीका लागि किताब अभाव रहेको बताए। उनले व्यापारीहरुले किताब नदिएको गुनासो गरेका छन्। उनले भने, ‘व्यापारीहरुलाई किताब किन नल्याएको भन्दा उहाँहरुले जनक शिक्षा सामाग्रीलाई देखाउनुहुन्छ। हामी कता जाने हो ? किताबको जिम्मा कसले लिने हो ? विद्यार्थी फेल भए के गर्ने होला ?’

गत जेठ ३ गतेदेखि नयाँ शैक्षिकसत्र सुरू भएको थियो। तर सुदूरपश्चिममा कक्षा ६ देखि ९ तथा कक्षा ११ र १२ का किताब सबै विद्यार्थीका लागि पुगेका छैनन्। किताब नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित बन्न पुगेको शिक्षकको गुनासो छ। विष्टले भने, ‘कक्षा ६ देखि ९ का विद्यार्थीले किताब पाएका छैनन्। ११ र १२ का विद्यार्थीसँग पनि किताब छैनन्। उनीहरु फेल भए भने जिम्मा सरकारले लिने हो। बोर्डिङ स्कुलका किताब आउने। सरकारी स्कुलका किताब मात्र किन नआएका होलान् ?’

सामुदायिक विद्यालयको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा जनक शिक्षा सामग्री केन्द्रको हो। सुदूरपश्चिमका सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पठाइएको केन्द्रको दाबी छ। यो वर्ष २२ लाख बढी पुस्तक वितरण गर्नुपर्ने जिम्मेवारी जनक शिक्षा सामग्रीसँग छ। धनगढीसहित प्रदेशका विभिन्न सामाुदायिक विद्यालयका विद्यार्थीले किताब पाएका छैनन्।

यता प्रदेशका लागि आवश्यक किताब पठाएको जनक शिक्षा सामाग्रीका प्रवक्ता चित्र कुमार आर्चायले बताए। उनले प्रदेशका लागि आवश्यक किताब पठाएको थप माग भएमा पुनः पठाउने बताएका छन्। ‘नयाँ माग भएको विषयमा जानकारी छैन। हामीले प्रदेशले मागेको किताब पठाएका हो। थप माग भएपनि पठाउँछौ। तर अहिले किताब छपानको काम रोकिएको छ।’

प्रदेशभित्र सामाुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि किताब छपान र ढुवानीको जिम्मा जनक शिक्षाको हो। तर जनक शिक्षाले कागजको अभाव देखाएर झण्डै एक महिनादेखि छपानको काम बन्द गरेको छ। सुदूरपश्चिम प्रदेशको राजधानीकै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन सकेका छैनन्।

प्रदेशको अस्थायी मुकाम धनगढीका अधिकांश विद्यालयमा अध्ययनरत विद्यार्थीले आवश्यक पाठ्यपुस्तक नपाएका हुन्। शैक्षिक सत्र सुरु भएको ८ महिना वित्नै लाग्दा समेत विद्यार्थीलाई किताब पाउन समस्या भइरहेको हो।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस