सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ७ हजार परिवारलाई लालपुर्जा वितरण गरिँदै

२०७९ मंसिर १३, ०९:४४ कमल सावद

धनगढीः धनगढी उप–महानगरपालिकाभित्र १९ वटा वडा छन्। उप–महानगरपालिकाभित्रका वडा नम्बर ९, ११, १२ र १३ मा जग्गाको नापजाँचको काम सकिएको छ। वडा नम्बर ५ र ७ मा केही क्षेत्रको जग्गा नापजाँचको काम बाँकी छ।

बाँकी वडाका केही क्षेत्रको नापजाँच गरिएको छ। उपमहानगरपालिकाले जापजाँच गरेको नक्सा मिलानको काम पनि जारी छ। निर्वाचनका कारण रोकिएको जग्गा नापजाँच तथा लालपुर्जा वितरणको काम फेरी सुरु हुने भएको छ। धनगढी उपमहानगरपालिकाका भूमि व्यवस्थापन शाखा प्रमुख बागेश्वर दत्त ओझाले जग्गा नापजाँचको काम पुनःसुरु गर्ने तयारीमा रहेको बताए। उनले भने, ‘मतपरिणम आएपछि रोकिएको काम सुरु हुन्छ।’

प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन सकिएसँगै जिल्लामा जग्गा दर्ताको काम फेरि सुरु हुँदैछ। धनगढी उपमहानगरपालिकासँगै जिल्लाका पाँच पालिकामा जग्गा नापजाँच तथा पुर्जा वितरणको काम जारी थियो। निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोकेको थियो।

मंसिर १ गतेको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै जग्गा नापजाँचको काम पनि सुरु हुने भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले बताए। जिल्लाभित्र रहेका भूमिहीन, दलित सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीलाई जग्गा धनीपुर्जा वितरणको तयारी थालिएको हो।

पाँच स्थानीय तहका सात हजार जग्गाधनीलाई केही दिनभित्रै जग्गाधनी पुर्जा वितरण गर्ने भूमि आयोगको दाबी छ। धनगढी उप–महानगरपालिका, कैलारी गाउँपालिका, भजनी, लम्कीचुहा र गोदवारी नगरपालिकाभित्रका भूमिहीनहरुलाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको हो। बाँकी ६ पालिकामा पनि जग्गा नापजाँचको काम सुरु हुने दाबी आयोगको छ।

नेपाल सरकारले गत चैत्र १७ गते कैलालीमा राष्ट्रिय भूमि अयोगको अध्यक्षमा यज्ञराज उपाध्यायलाई नियुक्त गरेको थियो। भूमि आयोग कैलालीको अध्यक्षमा उपाध्याय नियुक्त भएसँगै धनगढी–९ मा रहेका २२ घर परिवारहरुलाई लालपुर्जा बितरण गरिएको थियो। 

कैलालीका सात हजार जग्गाधनीलाई पुर्जा वितरणको तयारी थालिएको छ। जिल्लाका पाँच स्थानीय तहमा नापजाँच सकेर पुर्जा पाउन बाँकी जग्गाधनीलाई लालपुर्जा वितरणको तयारीमा रहेको भूमि आयोगले दाबी गरेको हो। जिल्लाका पाँच स्थानीय तहमा जारी जग्गा नापजाँचको काम प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण रोकिएको थियो।

निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै भूमि आयोगले बाँकी काम सुरु गर्ने बताएको हो। जिल्लाका १३ वटै स्थानीय तहका भूमिहीन, सुकुम्बासी र अव्यवस्थीत बसोबासीहरुलाई जग्गाधनी पुर्जा वितरण गरिने भएको हो।
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस