सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा गठबन्धनको बहुमत, मुख्यमन्त्री को ?

२०७९ मंसिर १०, ०१:१२ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिममा बाजुराबाहेक अन्य जिल्लामा प्रत्यक्षतर्फ मतगणना सम्पन्न भएको छ।

प्रदेशका प्रत्यक्ष ३० स्थानको नतिजामा सत्तागठबन्धनले बढी स्थानमा जीत निकालेको छ।

गठबन्धनले ३० मध्ये २१ स्थानमा जीत निकाल्दै प्रदेश सरकार बनाउन सुविधाजनक बहुमत प्राप्त गर्ने भएको छ। प्रत्यक्षतर्फ बाजुराका २ क्षेत्रको परिणाम आउन बाँकी छ भने समानुपातिकतर्फ २१ सिटमध्ये बढी सिट गठबन्धनकै भागमा पर्ने मत परिणामले देखाएको छ।

२०७४ मा बाम गठबन्धनलाई दुई तिहाइ नजिक बहुमत दिएका सुदूरपश्चिमका मतदातले यो पटक पनि पाँच दलीय गठबन्धनलाई सहज हुने गरि मतदान गरेको प्रत्यक्षतर्फको मत परिणामले स्पष्ट देखाएको छ।

प्रत्यक्षतर्फ गठबन्धनको मुख्य दल नेपाली काँग्रेसबाट सबैभन्दा बढी प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। नेपाली काँग्रेसका कैलाली र कञ्चनपुरबाट ३/३ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन् भने अछाम जिल्लाबाट दुई जना सदस्य निर्वाचित भएका छन्। यस्तै बैतडी, दार्चुला, बझाङबाट १/१ जना सदस्य निर्वाचित भएका छन्।

नेपाली काँग्रेसका कैलालीबाट प्रकाशबहादुर देउवा, प्रकाशबहादुर बम र कमलबहादुर शाह निर्वाचित भएका हुन्। कञ्चनपुरबाट दिवानसिंह विष्ट, बहादुरसिंह थापा र बेलबहादुर राना मगरले चुनाव जितेका छन्। यस्तै, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट नेपाली काँग्रेसका शिवराज भट्ट, दार्चुलाका विक्रमसिंह धामी, अछामबाट मेघराज खड्का र मानबहादुर रावल निर्वाचित भएका छन्।

नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ ८ जना निर्वाचित भएका छन्। कैलालीबाट रमेश धामी, डडेल्धुराबाट खगराज भट्ट, अछामबाट अक्कलबहादुर रावल र झपटबहादुर साउँद प्रदेश सभा सदस्यमा चुनिएका छन्। यस्तै, कञ्चनपुरबाट ओमविक्रम भाट, दार्चुलाबाट मानबहादुर धामी र बझाङबाट भीमबहादुर भण्डारी र डोटीबाट शिवसिंह ओली पनि माओवादी केन्द्रबाट निर्वाचित भएका छन्।

नेकपा एकिकृत समाजवादीबाट कैलालीबाट दीर्घबहादुर सोडारी र कञ्चनपुरबाट प्रकाश रावल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।

यो सँगै २१ सिट प्रत्यक्षमा जीतेको सत्ता गठबन्धनले समानुपातिकतर्फबाट प्राप्त गर्ने सिट संख्या जोड्दा सहजै सरकार बनाउन सक्ने देखिएको छ।

तर सत्ता गठबन्धनले प्राप्त गर्ने प्रदेश सभा सदस्यको संख्या यकिन गरेर भन्न समानुपातिक मत गणनाको परिणाम आउनुपर्छ। गठबन्धन दलका शिर्ष नेतृत्व पूर्व सहमतिबाट पछि नहटे पाँच दलीय गठबन्धनको बहुमतको सरकार बन्ने र सरकारको नेतृत्व नेपाली काँग्रेस र माओवादी केन्द्रमध्ये एउटाले गर्नेछ। 

३० क्षेत्र मध्ये पाँच दलीय गठबन्धनका उम्मेदवार अधिकँस क्षेत्रमा विजयी भएका छन्।

गठबन्धनले २१ स्थानमा जीत निकाल्दा नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्रका ९ जना प्रदेश सभा सदस्यले जीत निकालेका छन्।

गठबन्धनले समानुपातिकबाट आउने सिटसमेत जोड्दा सहजै प्रदेश सरकार बनाउन बहुमत पुगेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस