डडेल्धुरा–२ मा स्वतन्त्र जोशी विजयी, काँग्रेसका मन्त्री बोहरा पराजित
धनगढीः डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।
उनले प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४८० मतले पराजित गरेका छन्। बोहराले १० हजार ९ सय ७० मत पाए। बोहरा सुदूरपश्चिम प्रदेश सरकारका बहालवाला सामाजिक विकास मन्त्रीसमेत हुन्।
०७४ सालको निर्वाचनमा यहाँ काँग्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए। वाम गठबन्धनका तत्कालीन उम्मेदवार ताराप्रसाद जोशीलाई ३५८ मतले पछि पार्दै विजयी भएका थिए। मल्लले १३ हजार ४ सय १३ मत प्राप्त गर्दा जोशीले १३ हजार ५५ मत पाएका थिए।