सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुखो पाखोमा पूर्वमन्त्रीको ड्रागन खेती

२०७५ चैत्र ६, ०३:११ खबर संवाददाता

तुलसीपुर–घोराही सडक खण्डसँग सटेको जग्गा। वर्षौंदेखि बाँझो। त्यही जग्गामा अहिले फलामका खाँबा गाडिएका छन्। ती खाँबासँगै भर्खरै बिरुवा रोपिएका छन्। झट्ट हेर्दा जो कोहीलाई अनौठो लाग्न सक्छ, त्यसमा पनि पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगर फरुवा समाएर खनिरहेको भेटिन्छन्।
पूर्वमन्त्री मगरले दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेको तीन बिघा ६ कठ्ठा जग्गामा ‘ड्रागन फ्रुट’ खेती शुरु गरेका छन्। ‘पहरामा फूल फुलाउन र मरुभूमिमा मूल फुटाउन त्यति सजिलो छैन’ उनले भने ‘तर म प्रयास गर्दैछु।’ त्यो उजाड जमीनमा दाङमै पहिला पटक ड्रागन फ्रुट अर्थात ‘रातकी रानी’ को उत्पादन गर्न उनी जुटिरहेका छन्। आफू मन्त्री हुँदा राजनीतिक भ्रमणमा चीन गएको र त्यतिबेला पहिलो पटक खाएको फल ‘ड्रागन फ्रुट’लाई आफैंले नेपालमै उत्पादन गर्नुपर्छ भन्ने उनलाई त्यो बेलादेखि लागेको रहेछ। ‘म, नारायण काजी श्रेष्ठ, रामबहादुर थापासहितको टोली चीन गएका थियौं’ उनले सुनाए ‘त्यतिबेला चीनमा हामीलाई यो ड्रागन फ्रुट दिइएको थियो। हामीलाई कसरी खाने भन्ने पनि थाहा थिएन तर, मैले जुक्ति लगाएर नजीकको चक्कुले काटे, अनि काँटीले निकालेर खान थाल्यौं।’ नेपालमा यसको सम्भावना राम्रो भएको र स्वास्थ्यका लागि पनि उपयोगी भएकाले आफूले नेपालमा यसको खेती शुरु गरेको उनले बताए। उनका अनुसार तराईमा यसका लागि उपयुक्त हावापानी छ । यस फलमा ग्याष्ट्रिक, कब्जियत, क्यान्सर, मुटुरोगलगायत मानव शरीरमा लाग्ने विभिन्न रोगसँग लड्न सक्ने गुण छ।
ड्रागन फ्रुटको बिरुवा नेपालमा नपाइने भएकाले भियतनाम, थाइल्यान्डलगायतका देशबाट ल्याउने गरेको उनले बताए। तीन प्रकारका बिरुवाहरु पाइने भए पनि बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पनि रातो र भित्र पनि रातो हुने दुई प्रकारका बिरुवाहरु उनले लगाएका छन्। ती विदेशबाटै कलमी गरेर ल्याइएका बिरुवा हुन्।
युवालाई स्वरोजगार बन्न सिकाउन लामो समय बाँझो रहेको ३ बिघा ६ कठ्ठा जग्गालाई १५ वर्षसम्मका लागि उनले भाडामा लिएका हुन्। ‘पछिल्लो समय युवा जमात आफ्नो जग्गा बाँझो राखेर विदेश गइरहेका छन्’ उनले भने, ‘उनीहरुलाई विदेश भन्दा स्वदेशमै पसिना बगाए मरुभूमिमा मूल फुटाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि यो खेतीको शुरुआत गरेको हुँ।’
पन्ध्र वर्षका लागि ४० लाख रुपैयाँमा उनले जग्गा भाडामा लिएका हुन्। अहिले करिव ७र८ कठ्ठामा जग्गामा दुई हजार १०० बिरुवा रोपिएका र बाँकी जग्गाका लागि चार हजार बिरुवा आउँदै गरेको उनले जानकारी दिए। लगाएको दुई वर्षदेखि यसले फल दिन थाल्छ। पूर्बमन्त्री बिष्टलाई सघाउने पाँचजना छन्। दुईजना नियमित काममा खटिएका छन् भने अन्य तीनजना काठमाडौंमा बस्छन्। धेरै वर्षदेखि बाँझो जग्गालाई ‘फिलिङ’ गरेर साढे दुई फिट गहिरोमा खाँबो गाडिएको र दुई मिटरको दूरीमा बिरुवा रोपिएको छ। त्यहीँ डिप बोरिङ गरेर हप्तामा २र३ पटक सिंचाइ गर्ने गरिएको छ।
यो फूल रातमा मात्रै फुल्ने र रातमा मात्रै फल लाग्ने भएकाले पनि रातकी रानी भन्ने गरिएको हो। जेठको १५ गतेदेखि कात्तिकको १५ गतेसम्म फुलेर फल लाग्ने पूर्वमन्त्री बिष्टले बताए। फूल फुलेको चाररपाँच दिनपछि फूलका पात सुकिसक्ने र सुकेको फूलको विशेष चिया बन्ने पनि उनले जानकारी दिए। उनका अनुसार फूल फुलेको ४५ दिनमा फल तयार हुने र यसको फल १५० ग्रामदेखि एक किलोग्रामसम्म हुन्छ। राम्रो सिञ्चाइ, मल तथा स्याहारसुसार पाएमा २० देखि ३० वर्षसम्म यसबाट फल लिन सकिन्छ। यो सिउँडी प्रजातिको फल हो। दाङका लागि ड्रागन नौलो फलको रुपमा रहेको उनले बताए। अन्य मुलुकमा यो फल व्यावसायिक रुपमा स्थापित भए पनि नेपालमा भने भर्खरै यसले प्रवेश पाएको छ। यस फलमा १२ प्रकारका खनिज र भिटामिन पाइन्छ। यो फल मिठो नभए पनि औषधीय गुणले भरिपूर्ण रहेको पूर्वमन्त्री बिष्टको भनाइ छ।
यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी पनि बनाउन सकिन्छ। यसको मुन्टाको पनि गजबको तरकारी बन्ने उनले बताए। लामो समयको अध्ययन र अनुसन्धान पछि यो खेतीतर्फ आकर्षित भएका हुन् बिष्ट। करीव १५० बिघा क्षेत्रफलमा तरकारी खेती गर्ने लक्ष्य भए पनि लगानी नजुट्दा समस्या भएको उनले बताए। अहिले दाङमै कालो धानको खेती गरिरहेका उनको ठूलो लगानीमा धेरै खेती गर्ने र युवालाई स्वरोजगार प्रदान गर्ने लक्ष्य छ । ‘करीव १५० बिघा क्षेत्रफलमा तरकारी खेती गर्ने योजना बनाएको छु’, उनले भने ‘आवश्यकतानुसार लगानी गर्ने वातावरण मिलाउन सकिएको छैन।’ मुलुकमा परिवर्तन ल्याउन लामो समय राजनीतिमा सक्रिय रहेका उनी अब भने राजनीतिमा नफर्कने बताउँछन्। कृषि क्रान्ति गरेरै बाँकी जीवन बिताउने उनको अठोट छ। रासस 

कमेन्ट लोड गर्नुस