बझाङको साइपालका मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरिने
धनगढीः बझाङको साइपाल क्षेत्रका मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरिने भएको छ।
जिल्लाको साइपाल गाउँपालिकाको विकट ५ मतदानस्थलको मतपेटिका हेलिकोप्टर र पैदलबाट सदरमुकाम चैनपुर ल्याउने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए। उनका अनुसार हेलिकोप्ट आज साइपाल जाने छ। मतपेटिका पुगेपछि सर्वपक्षीय बैठक बसेर मतगणना सुरु हुनेछ।
जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ५१ दशमलव ८८ प्रतिशत मत खसेको छ। एक लाख २२ हजार ३ सय ७६ मतदाता रहेको जिल्लामा यसपटकको निर्वाचनमा ६३ हजार ४ सय ८९ मत खसेको हो।
बझाङको प्रदेशसभा (१) का लागि ६१ हजार १ सय ६९ मतदाता रहेकोमा ३२ हजार ८ सय ३३ मत खसेको छ। जुन ५३ दशमलव ६८ प्रतिशत हो। प्रदेशसभा (२) का लागि ६१ हजार २ सय ७ मतदाता रहेकोमा ३० हजार ६५६ मत खसेको छ जुन ५२ प्रतिशत हो।
एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको बझाङमा ७ जना प्रतिनिधिसभा सदस्यका लागि र ६ जना प्रदेशसभाका लागि चुनावी मैदानमा छन्।