प्रधानमन्त्री देउवाले भने– लोकतन्त्रप्रतिको समर्पण उजागर भयो
काठमाडौंः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदाताहरूलाई धन्यवाद दिएका छन्।
प्रधानमन्त्री देउवाले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका हुन्।
‘निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु। निर्वाचनमा तपाईँहरूको सक्रियता र उत्साहपूर्ण सहभागिताका साथ अमूल्य मत खसाल्नु भएकोमा सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा दिएको छ । साथै, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पुर्याएको छ’, उनले भनेका छन्।
प्रधानमन्त्री देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन्।