डोटीमा ४ राउण्ड हवाइ फायर, एक ठाउँको मतदान रोकियो
धनगढीः डोटीको मतदान स्थलमा डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ। जिल्लाको शिखर नगरपालिका– ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदानस्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्डहवाइ फायर गरेको हो।
केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि भीड तितरबितर पार्न ४ राउण्ड हवाइ फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिए। केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भएपछि मतदान पुनः सुरु भएको जनाइएको छ। १७ सय मतदाता रहेको उक्त मतदानस्थलमा ५०६ मत खसेको छ। अहिले मतदान जारी रहेको प्रहरीले जनाएको छ।
यस्तै डोटीकै जोरायल गाउँपालिका ३ रावतकट्टेमा रहेको रत्न माध्यमिक विद्यालयमा भइरहेको मतदान भने रोकिएको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र प्रदेश सभाको प्रत्यक्षतर्फका लागि वितरण हुँदा मतदान स्थगित भएको हो।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको क्रम संख्या ९०१ देखि ९१८ सम्मको मतपत्र प्रदेश सभाको प्रत्यक्षतर्फका लागि वितरण गरिएको थियो। मतदाताले उक्त विषय थाहा पाएपछि सोही क्रम संख्याभित्रका पछिल्लो ४ जनाले भने पुनः मतदान गरेका छन्। बाकी १४ मत बदर गर्ने वा मतदान प्रक्रिया नै स्थगित गर्ने भन्ने विषयमा अहिले विवाद भैरहेको छ।
मतदानस्थलमा खटिएका विभिन्न दलका प्रतिनिधिहरुले कर्मचारीको लापरबाहीका कारण समस्या भएको बताएका छन्। अहिले उक्त समस्याको हल निकालेर मतदान सुचारु गर्न पहल भइरहेको बताइएको छ।