प्रदेशको अस्थायी राजधानी धनगढीका स्थानीय टेलिफोन र इन्टरनेट सेवाको पहुँच बाहिर
सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढी उप–महानगरपालिकाका केही बस्ती अहिले पनि टेलिफोन र इन्टरनेट सेवाको पहुँच बाहिर छन्। प्रदेशको अस्थायी राजधानी र धनगढी उप–महानगरपालिका भईसक्दा पनि वडा नम्बर ५ का अधिकांश वस्ती टेलिफोन र इन्टरनेट सेवाको पहुँच बाहिर रहेका हुन्।
टोलमा ल्याण्डलाईन टेलीफोनको लाईन पुगेको छैन भने ईन्टरनेटको पनि व्यवस्था छैन्। वडा नम्बर ५ को गौरीशंकर टोलका स्थानीय आसुतोस जोशीले सरोकारवाला निकायको वेवास्ताका कारण प्रविधिको युगमा पनि टेलिफोन र ईन्टरनेट सेवाबाट वञ्चित हुनु परेको गुनासो गरे।
सञ्चार र प्रविधिले फड्को मारिरहेका बेला झण्डै १५ वर्षदेखी बसोबास गर्दै आएका गौरीशंकर टोलका ३० भन्दा बढि परिवार अहिले पनि टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित छन््। टेलिफोन र इन्टरनेट सेवा नपाएपछि सञ्चार सम्पर्कमा समस्या खेप्नुपरेको स्थानीय खेमा जोशीले बताईन। सुदूरपश्चिमकै विकसीत स्थानीय तह मानिएको धनगढीकै स्थानीय टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित हुनु दुर्भाग्यपूर्ण भएको धेरैले बतााएका छन्। गाउँमा पुगेको भनिएको सिहदवारले समेत स्थानीयको आवश्यकता सम्बोधनमा ध्यान दिएको छैन्।
अझ स्मार्ट सिटीको नारा लिएर अगाडी बढेको धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधीको वेवास्ताले स–साना समस्याबाट गुज्रिनु परिरहेको छ। अन्य भैतिक पूर्वाधारका हिसाबले समेत पछाडी परेको गौरीशंकर टोलका स्थानीयवासीले सामान्य टेलिफोन समेत प्रयोग गर्न पाएका छैनन। नेपालमा नेपाल टेलिकम, एनसेल लगायतका अन्य धेरै दुरसञ्चार कम्पनी रहेका छन भने धनगढीकै अन्य स्थानहरुमा समेत ईन्टरनेटको फोर जी सेवा पनि संचालनमा रहेको छ।
दुरसंञ्चार कम्पनीहरुले पनि आफ्नो ईन्टरनेट सेवालाई उत्कृष्ट सेवाको रुपमा लिएका छन। तर २१ औँ शताब्दीमा पनि टेलिफोन र ईन्टरनेटको सेवा पुग्न नसक्नु दुःखद पक्ष भएको स्थानीय यज्ञराज भट्टले बताए। तत्कालै टेलिफोन र ईन्टरनेटको सेवा उपलब्ध गराईदिन सरोकारवाला संग सो क्षेत्रका स्थानीयले माग गरेका छन।