पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा ७८ उम्मेदवारको आइतबार अन्तिम परीक्षा
धनगढी: कैलालीमा प्रतिनिधि सभातर्फ पाँच निर्वाचन क्षेत्र छन्। पाँच निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धन, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका करिव एक दर्जन पार्टीका उम्मेदवारलाई मतदाताले आइतबार मतदान गर्ने छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि ११ जना उम्मेदवार छन्। त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका टंकप्रसाद जैशी, नेकपा एमालेका तपेन्द्रबहादुर रावल, राष्ट्रिय जनमुक्ति पार्टीका तिलकबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका धनबहादुर मगर उम्मेदवार छन्।
यस्तै, १ नम्बर क्षेत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भोजबहादुर विश्वकर्मा, नेपालका लागि नेपाली पार्टीका मानबहादुर चौधरी, नागरिक उन्मुक्ति पार्टीका रन्जिता श्रेष्ठ, नेपाली काँग्रेसका रामजनम चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवर पनि उम्मेदवार छन्। यो क्षेत्रमा ललितबहादुर थापा र विजयराजसिंह मयाल स्वतन्त्र उम्मेदवार छन्। कैलाली १ मा एमाले उम्मेदवार तपेन्द्रबहादुर रावल टीकापुर नगरपालिकाका पूर्व नगर प्रमुख हुन् भने रन्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष हुन्। नेपाली काँग्रेसका उम्मेदवार रामजनम चौधरी भने पूर्व मन्त्री हुन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा ९ जना उम्मेदवार प्रतिनिधि सभा सदस्य बन्ने दौडमा छन्। यो क्षेत्रमा नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट कमलेशकुमार चौधरी, नेकपा एमालेबाट निवर्तमान सांसद झपटबहादुर रावल, नेपाल लोकतान्त्रि पार्टीका देशराम चौधरी उम्मेदवार छन्। यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर बुढामगर, नेकपा माओवादी केन्द्रका भगतबहादुर बडुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतसिंह बुढाक्षेत्री, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावल र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी समाजवादी० का शेखर शर्माको उम्मेदवारीमाथि मतदाताले निर्णय गर्ने छन्।
कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ का मतदाताले ८ जना उम्मेदवारको आइतबार भाग्यको फैसला गर्ने छन्। यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका गंगादेवी पौडेल, नागरिक उन्मुक्ति पार्टीका गांगाराम चौधरी, नेकपा एमालेबाट पूर्व मन्त्री गौरीशंकर चौधरी, नेकपा मालेका परेकबहादुर रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बम, स्वतन्त्रका नवीनकुमार बोहरा र रमेश आचार्यको उम्मेदवारीको परीक्षण त्यो क्षेत्रका मतदाताले गर्ने छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा १० जनाको उम्मेदवारी रहेको छ। गठबन्धनबाट नेपाली काँग्रेसका प्रदेश सभापति एवं पूर्व मन्त्री वीरबहादुर बलायर र नेकपा एमालेका प्रदेश इन्चार्ज एवं पूर्व मन्त्री लेखराज भट्ट आमनेसामने छन्। बलायर र भट्ट पूर्व मन्त्री हुन्। यस्तै, नागरिक उन्मुक्ति पार्टीका कइँया चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्दप्रसाद भट्ट, मौलिक जरोकिलो पार्टीका चेतराज साउँद, राष्ट्रिय प्रजातन्त्र पार्टीका जयबहादुर धामी, नेपाल संघीय समाजवादीका भीमबहादुर थापामगर, जनता प्रगतिशिल पार्टीका मोहनदेव मिश्र, नेपाल मजदुर किसान पार्टीबाट सिताराम पण्डित, स्वतन्त्र उम्मेदवार मेखराज जोशी उम्मेदवार रहेका छन्।
प्रदेशको अस्थायी राजधानी रहेको निर्वाचन क्षेत्र नम्बर ५ मा भने १० जना उम्मेदवार छन्। यो क्षेत्रमा पूर्व मन्त्री नारदमुनि राना नेकपा एमालेबाट उम्मेदवार छन् भने पूर्व राज्य मन्त्री पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार छन्। यस्तै, निवर्तमान प्रदेश सभा सदस्य डिल्लीराज पन्त गठबन्धनका उम्मेदवार हुन्। क्षेत्र नम्बर ५ मा अन्य उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इश्वरी विष्ट, नेपाल मजदुर किसान पार्टीका नन्दाकुमारी दर्लामी मगर, लोकतान्त्रिक समाजवादीका दानबहादुर विश्वकर्मा उम्मेदवार छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा गगनबहादर धामी, जगदीश चौधरी, रामबहादुर सिंह र सत्यराज उपाध्याय पनि स्वतन्त्र उम्मेदवार छन्।
कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ ७८ उम्मेदवार छन्। आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेपछि हुने मतदानमा कैलालीमा ५ लाख बढी मतदाताले भोट हाल्न पाउने छन्। यो पटक कैलालीका पाँच वटै निर्वाचन क्षेत्रका मतदाताले पूर्व मन्त्रीदेखि स्वतन्त्र उम्मेदवारहरूको भाग्यको फैसला गर्ने छन्। कैलालीमा प्रत्यक्षतर्फ १० जना प्रदेश सभा सदस्य पनि निर्वाचित हुने छन्।
आइतबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ७८ जना र १० वटा प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवार र सामानुपातिक उम्मेदवारका लागि जिल्लाका ५ लाख ३५ हजार ५१४ मतदाताले मतदान गर्न पाउने छन्।