कञ्चनपुरका मतदानस्थल अपाङ्गमैत्री बनाइने
दोधारा चाँदनी: जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले कञ्चनपुरका सबै मतदानस्थलहरू अपाङ्गमैत्री बनाउने जनाएको छ। अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको मतदानमा पहुँच पु¥याउने उद्देश्यले सबै मतदान केन्द्र अपाङ्गमैत्री बनाइन लागेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले जानकारी दिए।
“अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान केन्द्रसम्म सहजै ह्विलचियर गुडाएर पुग्न सक्ने गरी मतदानस्थल निमार्ण गर्छौं”, उहाँले भन्नुभयो, “भौतिक अवस्थाले भ्याएसम्म सबै केन्द्रमा अपाङ्गमैत्री बनाउँछौँ।” अपाङ्गता भएका व्यक्तिलाई अन्य मतदाताझैँ मतदान केन्द्रहरूमा पुग्न सक्ने व्यवस्था गरिने उनले बताए।
राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिमका संयोजक उपेन्द्र खडायतले अपाङ्गता भएका व्यक्तिहरूको मताधिकार सुनिश्चित गर्न मतदान केन्द्र अपाङ्गमैत्री बनाइनुपर्ने बताए। “अन्य व्यक्ति जस्तै अपाङ्गता भएकाहरूले पनि सहजरूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्छ”, उनले भने, “सरकारले देशभरि तीन सय मतदान केन्द्र अपाङ्गमैत्री बनाएको छ, कञ्चनपुरमा एउटा पनि छैन।” उनले निर्वाचन आयोगले जिल्लाका सबै मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्तिलाई सहज पहुँच दिने प्रतिबद्धता गरेको बताए।
प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरको क्षेत्र नं १ मा ९१ हजार एक सय १०, २ मा एक लाख पाँच हजार पाँच सय ७७ र ३ मा ९७ हजार आठ सय २२ मतदाता छन्। जिल्लाभरिमा एक सय ३२ मतदानस्थल र तीन सय ४६ मतदान केन्द्र छन्।
क्षेत्र नं १ मा एक सय १९, २ मा एक सय १८ र ३ मा एक सय नौ मतदान केन्द्र छन्। भीमदत्त नगरपालिका कार्यालय र महन्द्रनगरस्थित कारागारमा अस्थायी मतदान केन्द्र पनि राखिएको छ । एक मतदान केन्द्रमा आठजनाका दरले दुई हजार सात सय ६८ कर्मचारी खटिएका छन्।