निर्वाचनका लागि सुदूरपश्चिमका कुन जिल्लामा कति कर्मचारी खटिए ?
धनगढीः सुदूरपश्चिमका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका छन्। प्रदेशका नौ वटै जिल्लाका मतदान केन्द्रमा कर्मचारी खटिएका हुन्। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गर्नका लागि कर्मचारीहरु आवश्यक सामग्री लिएर मतदान केन्द्र पुगेका हुन्। उनीहरु मतपेटिका, मतपत्र, स्वस्तिक छाप, स्टाम्प लगायतका सामग्री बुझेर मतदान केन्द्रमा खटेका हुन्।
सुदूरपश्चिममा ३२ वटा प्रदेश निर्वाचन क्षेत्र छन्। सुदूरपश्चिममा एक हजार एक सय ६१ मतदान स्थल र दुई हजार एक सय ४६ मतदान केन्द्र निर्धारण गरिएको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीमा मतपेटिका, मतपत्र, स्वस्तिक चिन्ह भएको छाप लगायत ५८ प्रकारका निर्वाचन सामग्री लिएर कर्मचारी मतदान केन्द्रमा पुगेका छन्।
निर्वाचन गराउनका लागि खटेका कर्मचारीसँग यस पटक सेनिटाइजर र औषधि नरहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले बताएको छ। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको बेला कर्मचारीहरुलाई सेनिटाइजर र आवश्यक औषधि पनि दिइएको थियो।
निर्वाचन सम्पन्न गर्नका लागि कैलालीमा पाँच हजार ७२ कर्मचारी र दुई हजार ५१६ जना स्वयम् सेवक गरी सात हजार ५८८ जनशक्ति खटिरहेका छन्। मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी गरेर प्रत्येक मतदान केन्द्रमा आठ÷आठ जना कर्मचारी रहने जनाइएको छ। पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा चार र त्योभन्दा कम मतदाता रहेको केन्द्रमा तीन जनाका दरले स्वयमसेवक खट्ने छन्।
कञ्चनपुरमा दुई हजार सात सय ७४ कर्मचारी खटिएका छन्। जिल्लामा एक हजार तीन ८४ स्वयमसेवक परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले बताएको छ। जिल्लामा एक सय ३२ मतदानस्थल रहेका छन भने तीन सय ४६ मतदान केन्द्र रहेका छन्। जिल्लामा प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र छन्।
प्रदेशको पहाडी क्षेत्रमा आवश्यक सामग्रीसहित बुधबार नै कर्मचारीहरु खटाइएका छन्। जिल्ला निर्वाचन कार्यालय डोटीका अनुसार एक हजार चार सय २० जना कर्मचारी निर्वाचनका लागि खटिएका छन्। एक सय १५ मतदान स्थल र एक सय ७७ मतदान केन्द्रका लागि उक्त संख्यामा कर्मचारी खटिएका हुन्। डोटीमा एक प्रतिनिधि सभा सदस्य र २ प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ। अछाममा एक हजार २ सय ४८ जना कर्मचारी खटिएका छन्।
उनीहरुसँग ८ सय २५ जना स्वयमसेवक परिचालन गरिएको छ। जिल्लामा २ सय ८ मतदानस्थल र केन्द्र रहेका छन्। अछाममा प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ निर्वाचन क्षेत्र छन्। दार्चुलामा पनि निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचन सामग्री बुझेर मतदान केन्द्रहरुमा पुगेका छन्। सदरमुकामदेखि टाढा रहेका मतदान केन्द्रमा खटिएका कर्मचारी र सरक्षाकर्मीहरु बुधबार नै निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुगेका हुन्।
जिल्लाको अति विकट अपिहिमाल, व्यास र लेकम गाउँपालिकाका विभिन्न मतदान केन्द्रहरुमा खटिएका कर्मचारीहरु बुधबार नै खलङ्गाबाट हिँडेका थिए। जिल्लामा एक हजार ६ सय ५० जना स्वयमसेवकसहित कर्मचारी निर्वाचनमा खटिएका छन्। जिल्लामा दुई वटा अस्थायीसहित एक सय १२ मतदान स्थल र एक सय ४१ मतदान केन्द्र रहेका छन्। जिल्लामा प्रतिनिधि सभाको एक र प्रदेश सभाका दुई निर्वाचन क्षेत्र छ।
बैतडीमा पनि प्रतिनिधि सभाको एक र प्रदेश सभाको २ क्षेत्रमा निर्वाचन हुँदैछ। जिल्लामा एक सय २३ मतदान स्थल र २ सय १० मतदान केन्द्र रहेका छन्। जिल्लामा निर्वाचनका लागि स्वयमसेवकसहित एक हजार ६ सय ६४ जना कर्मचारी परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
डडेल्धुरामा प्रतिनिधि सभाको एक र प्रदेश सभाको २ निर्वाचन क्षेत्र छन्। जिल्लामा एक सय १ मतदान स्थल र एक सय ३९ मतदान केन्द्रमा कर्मचारी खटाइएको हो। जिल्लामा एक हजार ६ सय कर्मचारी परिचालन गरिएको हो। बझाङमा एक सय ८६ केन्द्रका लागि एक हजार पाँच सय ७५ कर्मचारी परिचालन गरिएको छ। जिल्लामा एक प्रतिनिधि र दुई प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ।
यता बाजुरामा नौ सय एक जना कर्मचारी खटिएका छन्। जिल्लामा दुई अस्थायीसहित ७० मनदान स्थल र एक सय १२ मतदान केन्द्र रहेका छन। कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायतका ६३ प्रकारका निर्वाचन सामग्री लिएका प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेम भट्टले बताए। उनीहरु बैठक बसाउने लगायतका तयारीको काम गर्दैछन्।