सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भुमिहिनको पिडाः लगत संकलनको १७ बर्ष सम्म लालपुर्जा विहिन

२०७५ चैत्र ४, ०६:५० रोशन भट्ट

धनगढी उप–महानगरपालिका वडा नम्बर १२ मा वसोवास गर्दै आएका स्थानीयले लगत संकलन भएको १७ बर्ष सम्म पनि लालपुर्जा पाएका छैनन्। २०५८ सालमा तत्कालिन सरकारले भुमिहिनहरुको पुर्नबसोबासका लागि सुकुम्वासी समस्या समाधान आयोग गठन गरि लालपुर्जा वितरण गर्न भन्दै लगत संकलन गरेको थियो। तर केही पहुँचवालाले अस्थायी लालपुर्जा पाएपनि सामान्य नागरिकले भने पाउन सकेका छैनन्। 

चुनावका बेला घरघरमा लालपुर्जा पु¥याउने आश्वासन दिएका नेताहरुले समेत विजयी भएपछि वास्ता नगरेको वडा नम्बर १२ जुगेडा वी गाउ स्थानीय पदमबहादुर सिंहले गुनासो गरे। लालपुर्जा वितरण गर्ने भन्दै २०५८ सालमा लगत संकलन गरिएपनि त्यो भन्दा वषौँ पहिलेदेखी उद्यमसिल टोलवासीले उपभोग गर्दै आएको जमिनको लालपुर्जा नपाएको उनको  गुनासो छ। अस्थायी लालपुर्जा वितरण गर्ने भन्दै तत्कालिन सरकारले सुकुम्वासी समस्या समाधान आयोग गठन गरेको थियो। तर १७ वर्ष अगाडी तयार पारिएका लालपुर्जा सशुल्क अथवा निशुल्कमा वितरण गर्ने विषयमा कुरा नमिल्दा स्थानीय लालपुर्जा पाउनबाट बञ्चित भएका विमला निरौला वरालले बताईन्। 

चुनावमा घर घरमा लालपुर्जा पुगाउने आश्वासन बाडेहरु जनप्रतिनिधीले पनि अहिले वास्ता नगरेको आरोप उनको छ। जनप्रतिनिधीहरु अहिले लालपुर्जा वितरणको काम आफ्नो अधिकार क्षेत्र भित्र नपर्ने भन्दै पन्छीन थालेपछि वडा नम्वर १२ का स्थानीयमा आक्रोस बढेको छ। आउदो चुनावमा पनि एजेण्डा बनाउनका लागि जनप्रतिनिधीहरुले लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्न नचाहेको आरोप पनि स्थानीय वरालले लगाईन। सानो तिनो व्यापार व्यवसाय गर्न, घर निर्माण गर्न तथा अन्य सामान्य कामको लागि पनि लालपुर्जा आवश्यक पर्ने भएकाले दैनिकी चलाउनको लागि पनि समस्या हुने गरेको स्थानीयको गुनासो छ।

यति मात्र होईन वषौँदेखी लालपुर्जा वीहिन भएपछि छिमेकी टोलका लालपुर्जा धनीले उनीहरुसँग फरक व्यवहार गर्दै आएको पनि स्थानीय पर्शुराम बरालले बताए। धनगढी उप–महानरपालिका वडा नम्बर १२ जुगेडामा आज भन्दा ३० वर्ष अगाडी मानव वस्ती बसेको थियो। स्थानीयलाई वितरण गर्नु पर्ने कतिवय लालपुर्जा तयार पारेर मालपोत कार्यालयमा थन्काईएको छ। तर स्थानीयले भने सरोकारवाला निकायलाई तत्कालै स्थायी लालपुर्जा वितरण गर्न माग गरेका छन। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस