सुदूरपश्चिममा सेनाले हवाई सुरक्षा दिने, म्यादीसहित १८ हजार प्रहरी मैदानमा
धनगढीः सुदूरपश्चिम प्रदेशमा एक हजार एक सय ६१ मतदानस्थल छन्। प्रदेशका नौवटै जिल्लामा गरी तीन सय ५२ मतदान केन्द्रलाई अति संवेदनशील वर्गीकरण गरिएको छ। सोही आधारमा प्रदेशमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रदेशमा ६ हजार ४ सय १० प्रहरी तथा ११ हजार ५ सय ५९ म्यादी प्रहरीसहित १७ हजार नौ सय ६९ जना परिचालन गरिएको छ। मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उनीहरु मतदान स्थलतिर गएका हुन्। कर्मचारीसँगै सुरक्षाकर्मी पनि मतदानस्थल पुगेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रवक्ता एसएसपी भोला रावलले बताए।
उनका अनुसार प्रहरी कार्यालय नजिक रहेका मतदान स्थलमा शुक्रबार सुरक्षाकर्मी जानेछन् भने अन्य क्षेत्रमा बिहीबार नै प्रहरी गएका छन्। ’अस्तिबाट प्रहरी पनि हिँडेको छ। धेरै ठाउँमा पुगेको पनि छ। नजिक–नजिक बाँकी छन्,’ उनले भने।
प्रदेशभित्र ४ सय ४ मतदानस्थल संवेदनशील र ४ सय ५ सामान्य गरी वर्गीकरण गरिएको छ। नेपाल सरकारको निर्वाचन सुरक्षा रणनीति अनुसार प्रदेशमा सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको छ। तीन हजारको हाराहारीमा सशस्त्र प्रहरी र सोही संख्यामा नेपाली सेना प्रदेशमा परिचालन गरिएको छ। नेपाली सेनाले स्थलसँगै हवाई सुरक्षासमेत दिने नेपाल सेनाका प्रवक्ता नारायण सिलवालले बताए।
‘मतपत्र छपाई, ढुवानी लगाएतको सुरक्षा हाम्रो हो। नेपाल प्रहरीलाई बाहिर घेराबाट सहयोग गर्ने हो। हवाई गस्ती पनि हुन्छ। निर्वाचनको एक महिना पहिलाबाटै हामी खटिएका छौँ। निर्वाचनको दिन पनि हाम्रो सुरक्षा हुन्छ। हवाई सुरक्षा पनि दिन्छौँ। रिजव फोर्स पनि हुन्छ,’ उनले भने।
सुदूरपश्चिममा दुई हजार १४६ मतदान केन्द्र कायम गरिएकोमा अति संवेदनशील ७१०, संवेदनशील ७७८ र सामान्य ६५८ छन्। मतदान केन्द्र तथा मतदानस्थलको गत विगतको राजनीतिक अवस्था, सुरक्षा चुनौति लगायतका आधारमा संवेनदशील, अति संवेदनशील र सामान्य गरी वर्गीकरणकै आधारमा सुरक्षाकर्मी परिचालन गरिएको हो।
रावलले भने, ‘सेना र सशस्त्रहरु पनि हुन्छन्। आवस्यक्ताका आधारमा सेनाले सहयोग गर्ने हो। अहिलेसम्म कुनै असुरक्षा छैन। भण्डाफोरवाला पनि सुदूरपश्चिममा देखिएका छैनन्। उम्मेदवारहरु बिचमा हुने विवादलाई हामीले हेर्नेछौँ।’
कर्मचारीसँगै मतदानस्थलमा गएका सुरक्षाकर्मीहरु मतपेटीकासँगै फर्किनेछन्। उनीहरुले कर्मचारी, निर्वाचन सामाग्री तथा मतपेटीकाको सुरक्षा गर्नेछन्। सुरक्षा अवस्थाका आधारमा सुरक्षाकर्मी बढाउन सकिने व्यवस्थासमेत मिलाइएको छ। प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि कर्मचारीसँगै सुरक्षाकर्मी पनि मतदानस्थलतिर गएका छन्।
सुदूरपश्चिम प्रदेशमा झण्डै १८ हजार म्यादीसहित नेपाल प्रहरी परिचालन गरिएको छ। प्रदेशमा तीन हजारको हाराहारीमा सशस्त्र प्रहरी र सोही संख्यामा नेपाली सेना निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको छ। प्रदेशमा उम्मेदवारहरुबिचको विवाद बाहेक अन्य सुरक्षा जोखिम नरहेको दाबी गरिएको छ। प्रदेशमा एक हजार एक सय ६१ मतदानस्थल कायम गरिएको छ। कर्मचारीसँगै सुरक्षाकर्मीहरु पनि मतदानस्थलतिर गएका हुन्।