सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारीमा मतदाता प्रभावित पार्न गहुँको बिउ वितरण गरिदै

२०७९ कार्तिक ३०, ०१:२८ खबर संवाददाता

धनगढीः कैलालीको कैलारी गाउँपलिकामा मतदातालाई प्रभावित पार्न गहुँको बिउ वितरण थालिएको आरोप लागेको छ। गाउँपालिकाको चार लाखको योजना अनुसार वडा नम्बर ८ को कार्यालयमा गहुँको बिउ वितरण गर्न थालिएको हो। 

वनदेवी कृषि सहरकारी संस्थासँगको सहकार्यमा वडा कार्यालयले गहुँको बिउ वितरण गर्न थालेको अध्यक्ष इच्छा चौधरीले बताइन्। उनका अनुसार गाउँपालिकाले गहुँको बिउमा ५० प्रतिशत अनुदान दिएको छ। ५० प्रतिशत कृषि सहकारीको रकम हो। वडा कार्यालयबाट ४० किलोग्रामका एक सय ४३ कट्ठा गहुँको बिउ वितरण गर्ने कार्यक्रम रहेको छ। १२ दिन पहिला मात्र सहकारी र गाउँपालिका बिच गहुँको बिउ वितरणका लागि सम्झौता भएको थियो। 

यता कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरीले पुरानो योजना रहेको दाबी गरे। गहुँको बिउ वितरणका लागि सबै वडा कार्यालयमा रकम पठाएको उनले बताए। मतदातालाई प्रभावित पर्ने योजना नरहेको उनको दाबी छ। गहुँ छर्न ढिलो हुने भएकाले बिउ विरतण गरेको दाबी उनको छ।

गाउँपालिकाले प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको पाँच दिन मात्र बाँकी रहेका बेला अनुदानको गहुँको बिउ वितरण गरेको हो।
 

कमेन्ट लोड गर्नुस