कैलाली पुलदेखि धनगढी चौराहसम्मको सडक निर्माण गर्दैनौँ : निर्माण कम्पनी
धनगढीः धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको सडकको खानेपानीका पाइपको विकल्प नखोज्दै निर्माण सम्झौता भयो। संघीय सरकारले क्षेत्रीय सहरी विकास आयोजनामार्फत १० किलोमिटर सडक निर्माणका लागि कालिका कन्स्ट्रक्सनसँग २०७७ को असारमा सम्झौता गरेको थियो। सम्झौताको समय सकिएको छ। तर धनगढीको मुख्य सडक निर्माणको काम भने सुरु नै भएको छैन।
क्षेत्रीय सहरी विकासले खानेपानीका पाइप विस्तारको योजनालाई स्वीकृत गर्न नसकेकाले सडक निर्माणको काम प्रभावित भएको कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाशचन्द्र खरेलले बताए। उनले भने, ‘अब अरु सबै सकिने भयो। मेनरोडको ठेक्का सकिँदासम्म पनि नदिए कामै नगर्न भनेको छ। मेन रोडमा पुराना खानेपानीका पाइप टुटेको छ, लिकेज छ। अनि नयाँ पाइप हाल्ने एप्रुभल आएपछि मात्र काम गर भनेको छ के।’
क्षेत्रीय सहरी विकास आयोजना र कालिका कन्स्ट्रक्सनबीच दुई वर्षमा जम्मा १० किलोमिटर लम्बाइका ७ वटा सडक निर्माणका लागि ६८ करोड ५ लाख ९८ हजारमा सम्झौता भएको थियो। विद्युत र टेलिफोनका पोल स्थानान्तरण गर्ने सम्झौतामा उल्लेख छ। तर खानेपानीको पाइप सार्ने विषय ठेक्का सम्झौतामा समावेश नगरिएकाले समस्या भएको हो।
धनगढीको मुख्य सडकमा पर्ने खानेपानीको पाइप पुरानो भएको र दुबैतिर नयाँ पाइप लाइन विस्तार गर्ने योजना सडक विभागबाट स्वीकृत नभएको हो। क्षेत्रीय सहरी विकास आयोजना, धनगढीका प्रमुख रमेश थिङले निर्वाचन लगतै स्वकृत हुने बताए। ‘अन्तिम चरणमा पुगेको छ। खानेपानीको समस्या रहेछ। चुनाव लगतै स्वकृत हुन्छ। करेक्सन गर्न फाइल फिर्ता भएको हो। काम नगर्न भनिएको हैन,’ उनले भने।
क्षेत्रीय सहरी विकास मार्फत निर्माण थालिएका धनगढीका अन्य सडक कालोपत्रको काम २ महिनाभित्र पूरा हुँदैछ। तर मुख्य सडक निर्माणको स्वीकृती निर्माण कम्पनीलाई छैन। सडक निर्माणको स्वीकृती नभएकाले काम नगर्ने मनसायमा निर्माण कम्पनी छ। सडकमा खानेपानीको लाइन विस्तारको स्वीकृती नभएकाले सडक निर्माण गर्न नसकिने बताइएको हो।
कालिका कन्स्ट्रक्सनका प्रतिनिधि खरेलले कैलाली पुलदेखि चौराहसम्मको सडक निर्माण गर्न नसकिने बताए। ‘एक हप्ताभित्र एप्रुभल गर्नुभयो भने काम हुन्छ, नत्र काम हुँदैन। खानेपानीको पाइप हाल्ने काम हो, किन्नुपर्छ। घर–घरमा लाइन दिनुपर्छ। ड्रेन बनाउनु पर्छ। २ महिनामा अरु काम सकिदैछ। एक सडकका लागि मात्र बस्दैनौ। हाम्रो टिम निस्किन्छ। एक सडकका लागि मात्र हामी बस्न सक्दैनौ।'
धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर सडक, २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाइको हुलाकी–जाखौर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि सम्झौता भएको छ। धनगढीको मुख्य सडक बाहेक बाँकी सडक निर्माणको काम २ महिनाभित्र पूरा हुने दाबी गरिएको छ।