प्रधानमन्त्री देउवा आज गृह जिल्ला डडेल्धुरा जाँदै
धनगढी: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला डडेलधुरा जाने भएका छन्। मंगलबार साँझ धनगढी पुगेका उनी आज आफ्नो गृहजिल्ला जान लागेका हुन्।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रचारप्रसारका लागि देउवा फेरि सुदूरपश्चिम आएका हुन्। उनले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृह जिल्ला आएका थिए। त्यस क्रममा उनी चार दिन सातवटै स्थानीय तहमा वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेका चुनावीसभामा सहभागी भएका थिए।
देउवा सातौँ पटक डडेल्धुराबाट निर्वाचन लड्दैछन्। देउवासँग कांग्रेस विपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार चुनावी मैदानमा छन्।