सुदूरपश्चिममा दलका उम्मेदवारलाई स्वतन्त्र भारी
धनगढी: सुदूरपश्चिमका केही स्वतन्त्र उम्मेदवार दलका उम्मेदवारलाई भारी पर्ने देखिएका छन्। मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावमा जित हासिल गर्ने लक्ष्यसहित चुनावी प्रचारमा व्यस्त रहेका उनीहरु दलका उम्मेदवारका लागि भारी देखिएका हुन्।
स्वतन्त्र उम्मेदवारहरुले दलका उम्मेदवारलाई पराजित गरेर चुनाव जित्ने दाबी गरेका छन्। यो पटक प्रदेश र प्रतिनिधि सभामा स्वतन्त्र सांसदहरूको अर्थपूर्ण उपस्थिति हुने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (१) का स्वतन्त्र उम्मेदवार रमेशकुमार बस्नेतको दाबी छ। 'यो पटक सुदूरपश्चिम प्रदेश सभामा सरकार गठन गर्न सहयोग पुग्ने गरि स्वतन्त्र सांसदहरू हुन्छन्,' उनले भने, 'सुदूरपश्चिममा डडेल्धुरा, कैलाली, बैतडी, डोटी र कञ्चनपुरबाट स्वतन्त्र उम्मेदवार चुनाव जित्ने भएका छन्।'
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट स्वतन्त्र उम्मेदवारी परेका थिए। विभिन्न जिल्लामा रहेका स्वतन्त्र उम्मेदवारमध्ये केही उम्मेदवारको चर्चा प्रदेशभर छ। बलिया र दलीय उम्मेदवारलाई टक्कर दिने क्षमता भएका केही उम्मेदवारले यो पटक प्रदेश र प्रतिनिधि सभा सदस्यमा जित हात पार्ने दाबी गरेका छन्।
सदूरपश्चिमको डोटी, कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा उठेका स्वतन्त्र उम्मेदवार दलीय उम्मेदवारका लागि भारी पर्ने देखिएको छ। बैतडीमा प्रतिनिधि सभा सदस्यतर्फ स्वतन्त्र उम्मेदवार केशवबहादुर चन्द र प्रदेश (१) मा हरिमोहन भण्डारी बलिया स्वतन्त्र उम्मेदवार मानिएका छन्। चन्द र भण्डारीले गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरूलाई चुनौति दिएका छन्। जित्नकै लागि स्वतन्त्र उम्मेदवारी दिएको केशवबहादुर चन्दले बताए। 'बैतडीमा कम जनमत भएको माओवादीले नेतृत्व पाउनु नै गलत छ, हामी बहुमत डेमोक्र्याटहरूलाई कम जनमत भएकोले नेतृत्व गर्नु स्वीकार गर्न सकिएन,' उनले भने, 'मैले कसैको जित सहज बनाउन भन्दा पनि आफैं जित्न उम्मेदवार भएको हुँ।'
कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को (२) मा टेकबहादुर साउँद स्वतन्त्र उम्मेदवार छन्। उनलाई पनि त्यो क्षेत्रका मतदाताले बलियो उम्मेदवार रहेको बताएका छन्। यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को (२) मा पिताम्बर जोशीको स्वतन्त्र उम्मेदवारी छ। उनले पनि सत्ता गठबन्धन र नेकपा एमालेको गठबन्धनलाई चुनौति दिन सक्ने अनुमान गरिएको छ। यस्तै कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को (२) मा गोविन्दराज जोशी र लक्ष्मणबहादुर शाहीको स्वतन्त्र उम्मेदवारी छ। दुबै नेपाली काँग्रेसका नेता तथा जनमत बलियो भएका व्यक्ति हुन्।
यस्तै, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा पुष्करनाथ ओझाको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी छ। उनका कारण गठबन्धन र नेकपा एमालेले जित धरापमा रहेको आकलन गरिएको छ। पूर्व मन्त्री ओझाले सहजै चुनाव जित्ने बताउँदै आएका छन्। उनी नेपाली काँग्रसको कारवाहीमा परेका नेता हुन्। कैलाली ५ को (२) मा स्वतन्त्र उम्मेदवार रहेका क्षितिज भण्डारीले पनि आफ्नो सहज जित हुने दाबी गर्दै आएका छन्।
डडेल्धुरा प्रदेश (२) मा स्वतन्त्र उम्मेदवार रहेका डाक्टर तारा जोशी पनि जनमत भएका व्यक्ति हुन्। वामपंथी राजनीतिमा सक्रिय जोशीलाई डडेल्धुरामा नेपाली काँग्रेस (विपी) को समर्थन रहेको छ। जोशीको पक्षमा मतदाताको आकर्षण रहेको विश्लेषण गरिएको छ।
यस्तै, डोटीबाट प्रतिनिधि सभा सदस्यका लागि व्यवसायी नरेन्द्र खड्काको स्वतन्त्र उम्मेदवारी छ। खड्काले प्रदेश राजधानीको विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन्। उनको उम्मेदवारीले सत्ता गठबन्धनका उम्मेदवार प्रेमबहादुर आले सबैभन्दा बढी अफ्ठ्यारोमा पर्न सक्ने अनुमान गरिएको छ। खड्काले भने यो पटक डोटीमा स्वतन्त्रले चुनाव जित्ने दाबी गरेका छन्। 'यस पटक जनलहर डोटीका पक्षमा रहेको मैले महसुस गरेको छु,' उनले भने, 'सबै युवाहरू प्रचारप्रसारमा लागेका छन्, यो चुनावमा मेरोभन्दा पनि डोटीको जित हुने निश्चित छ।'
सुदूरपश्चिम प्रदेश सभामा यो पटक स्वतन्त्रको अर्थपूर्ण उपस्थिति हुने दाबी गरिएको छ। सुदूरपश्चिमबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेकाहरू पनि चुनाव जितेर इतिहास रच्ने दाउमा छन्।