सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा हुस्सु लाग्दा उडान भर्न सघाउने उपकरण थन्कियो

प्राधिकरणकै बेवास्ता

२०७९ कार्तिक २७, ०१:०८ कमल सावद

धनगढीः सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढीमा हुस्सु लाग्न सुरु भएको छ। हुस्सु र शितलहर सुरुभएपछि धनगढी विमानस्थलको हवाई सेवा प्रभावित हुँदै आएको छ। 

शितलहर सुरु भएपछि पूरा दिन हवाई सेवा प्रभावित हुने गरेको छ। यस्तै धनगढी विमानस्थलमा खराब मौसममा पनि हवाई सेवा सञ्चालनका लागि सहयोग गर्ने उपकरण पनि २ वर्षदेखि थन्किएको छ। धनगढी विमानस्थलमा जापानी सहयोग नियोग (जाइका) ले जडान गरेको उपकरण थन्किएको हो। 

धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले सो उपकरण परीक्षणको काम बाँकी हरेको बताए। उनकाअनुसार एक हप्ता भित्रमा उक्त उपकरण परीक्षणका लागि प्राविधिक समूह धनगढी आउँदैछ। खराब मौसममा विमानलाई उडान भर्न सहयोग गर्ने भीओआर–डिएमई उपकरण परिक्षणमा समेत विमानस्थल कार्यालयले बेवास्ता गरेको छ। 

उपकरणको परिक्षण नभएकाले हवाई सेवा प्रभावित हुने गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण र जापानी सहयोग नियोग (जाइका) ले संयुक्त रुपमा परीक्षण गर्ने बताइएको छ। तर, दुवै निकायले खराब मौसममा विमान अवतरण र उडान भर्न जडान गरिएका उपकरण परिक्षणमा बेवास्ता गरेका छन्। 

‘उपकरण परिक्षण गरिएको छैन। हुस्सुका कारण बिहान उडान भर्न समस्या हुने गरेको छ। एक हप्ता भित्रमा परिक्षणको तयारीमा छौ’, विमानस्थल प्रमुख भट्टले भने। भीओआर–डिएमई उपकरण सञ्चालन भए कम भिजीबिलिटीमा पनि उडान भर्न सकिने छ।

अहिले केही कम्पनीका विमान भने एक हजार ६ सय मिटर लम्बाईको भिजिबिलिटीमा उडान भर्दै आएका छन्। साना कम्पनीका विमानहरुका लागि भने ५ किलोमिटरको भिजीबिलिटी आवश्यक हुन्छ। धनगढी विमानस्थलमा जडान गरिएको भीओआर–डिएमई उपकरण सञ्चालनमा बेवास्ता गरिएको हो।

जापानी सहयोग नियोग (जाइका) ले जडान गरेका उपकरण सञ्चालनमा ल्याउन नागरिक उड्यन प्राधिकरणले नै बेवास्ता गरेको बताइएको छ। खराब मौसममा पनि उडान भर्न सकिने गरी उपकरण जडान गरिएको भएपनि सञ्चालनमा नआउँदा हवाई सेवा प्रभावित हुँदै आएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस