सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगुरमा अफ्रिकन स्वाइन फिभर देखिएपछि पशु सेवा विभागको टोली कैलालीमा

। फोटो स्रोत ।
२०७९ कार्तिक २६, ०२:०० नारायण अवस्थी

धनगढीः कैलालीको भजनीमा रहेको एक बंगुर फार्ममा गत कात्तिक १५ गते अफ्रिकन स्वाइन फिभर देखा परेको थियो। भाइरसबाट लाग्ने यो माहामारी कैलालीमा देखा पर्नासाथ स्थानीय, प्रदेश र संघीय सरकारबाट अन्यत्र फैलिन नदिन प्रयास जारी छ। 
प्रदेश सरकार अन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढीको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाल र पशु सेवा विभागको टोली भजनी पुगेर अफ्रिकन स्वाइन फिभर नियन्त्रण गर्न सक्रिय भएका हुन्। कैलालीको भजनी नगरपालिकामा जयबहादुर बुढाको बंगुर फार्ममा अफ्रिकन स्वाइन फिभर देखा परे पनि अन्यत्र संक्रमण नफैलिएको दाबी गरिएको छ। 

कैलालीको भजनीमा गत कात्तिक १५ गते पहिलोपटक बंगुर, सुँगुर र बँदेलहरूमा भाइरसबाट लाग्ने महामारी रोग अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएको थियो। कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ को बडिमालिका बंगुर फर्मका बंगुरहरुमा अफ्रिकन स्वाइन फिभर देखिएको थियो। बंगुर, सुँगुर र बदेलहरूमा देखिने अफ्रिकन स्वाइन फिभर कैलालीमा देखा परेसँग सरकारी तवरबाट अन्यत्र फैलिन नदिन प्रयास थालिएको हो। 

अफ्रिकन स्वाइन फिभर रोगका कारण एकै फार्मका ४ सय बढी बंगुर मरेपछि भजनीलगायत सुदूरपश्चिमका बंगुर पालन गर्ने किसान सतर्क भएका हुन्। संक्रमण फैलिएको बंगुर फार्ममा संघीय पशु सेवा विभागको टोलीले समेत भ्रमण गरेर नियन्त्रणा लागि आवश्यक सबै उपाय खोजिएको भेटेरिनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए। ‘कैलालीको भजनीको एउटा बंगुर फार्ममा देखिएको अफ्रिकन स्वाइन फिभर नियन्त्रण गर्न र त्यसको अनुगमन गर्न संघीय पशु  सेवा विभागको टोलीले कैलालीका पूर्वी क्षेत्रका बंगुर फार्म भ्रमण गरेको छ,’ उनले भने, ‘यो टोली कञ्चनपुरमा पनि अनुगमन गर्न गएको छ। हामीले १५ दिनसम्मको रेकर्ड हेर्दा यो रोग अन्यत्र फैलिएको पाइएन।’

भजनीको एक फार्ममा देखिएको अफ्रिकन स्वाइन फिभरका कारण ७ सयमध्ये ४ सय बढी बंगुर मरेका छन्। अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बंगुर एकै ठाउँमा थुप्रीए बस्ने, शरीरमा निलडामहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेका धब्बा देखिने र नाकबाट फिंज आउनेजस्ता लक्षणहरू देखा पर्ने हुन्छ। बंगुर, सुँगुर र बंदेलहरू अफ्रिकन स्वाइन फिभरका कारण झोक्राउने र दाना–पानी खान छोड्ने, ज्वरो १०४ डिग्री फरेनहाइट् भन्दामाथि आउने, श्वास फेर्न गाह्रो हुने, दिसामा रगत देखिने र एकै पटकमा सबै बंगुर, सुँगुर र बँदेल मर्न सक्ने हुन्छन्। तर कैलालीको भजनीबाट संक्रमण भने अन्यत्र नफैलिएको दाबी गरिएको छ।

भजनी नगरपालिकाको कार्यपालिकाको शुक्रबार बस्ने बैठकले संक्रमण फैलिएको फार्मका सबै बंगुर मारेर गाड्ने र किसानलाई उचित क्षतिपूर्ति दिने निर्णय हुने विश्वास पशु सेवा अधिकारीले गरेका छन्। नगरपालिका र किसानबीच सहमति भएपछि संक्रमण फैलिएको फार्मलाई निर्मलीकरण गरिने डाक्टर अवस्थीले बताए। ‘नगरपालिका र किसानबीछ सहमति भएपछि संक्रमण फैलिएको फार्ममा भएका सबै बंगुर मारेर गहिरो खाडल खनेर गाड्ने र खोरलाई निर्मलीकरण गर्ने योजना छ,’ उनले भने, ‘बंगुरमा यो रोगको संक्रमण हुन नदिन जैविक उपायमा ध्यान दिन अति आवश्यक हुन्छ।’

अफ्रिकन स्वाइन फिभर विरुद्ध हालसम्म कुनै खोप र रोग विरुद्ध प्रभावकारी उपचार छैन्। तसर्थ किसानले जैविक सावधानी अपनाउनु सबैभन्दा उत्तम उपाय भएको पशु विज्ञले बताएका छन्।


 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस