बेलायती राजा चार्ल्समाथि कुखुराको फूल प्रहार
एजेन्सीः बेलायती राजा चार्ल्स तृतीय र रानी कन्सोर्ट क्यामिलामाथि कुखुराको फूल (अण्डा) हान्ने प्रयास भएको छ। उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा राजा र रानीलाई अण्डाले हिर्काउने प्रयास गरिएको बताइएको छ।
७३ वर्षीय राजा र ७५ वर्षीया रानीमाथि योर्कमा हिँडिरहेको बेलामा तीनवटा अण्डा फालिएको सञ्चारमाध्यमहरुले जनाएका छन्। हातमा कुखुराको फुल लिएका ती व्यक्तिले चार्ल्सआफ्नो राजा नभएको उल्लेख गर्दै प्रहार गरेका थिए। प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको बताइन्छ। ती व्यक्तिले बेलायत दासहरुको रगतमा बनेको गम्भीर आरोप लगाएका छन्।
राजसंस्था समर्थकहरुले भने राजाप्रति सम्मान प्रकट गर्दै ‘भगवानले राजालाई बचाउनुभयो’ भन्ने प्रतिक्रिया दिएका छन्। महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा निधन भएपछि स्थापना गरिएको शालिकको अनावरणमा सहभागी हुन राजपरिवार योर्क शहरमा पहिलो पटक पुगेको हो।
अघिल्लो दिन राजा चार्ल्सले दासप्रथाबारे बेलायतको भूमिका विषयक एक कार्यक्रमलाई सम्बोधन गर्दै सो विषयमा खुला बहस चलाउन आफू तयार रहेको बताउनुभएको एएफपीले जनाएको छ।